डेब्यू खेलमै केप भर्डेले पूर्व विजेता स्पेनलाई रोक्यो

असार २, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को आफ्नो पहिलो खेलमा विश्वकपको नवप्रवेशी टोली केप भर्डेले बलियो प्रतिद्वन्द्वी एवं सन् २०१० को विश्वविजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक सुरुवात गरेको छ। अमेरिकाको एट्लान्टा स्टेडियममा भएको रोमान्चक खेलमा केप भर्डेले स्पेनको आक्रामक रणनीतिलाई पूर्णतः असफल तुल्याउँदै विश्वकप इतिहासकै पहिलो खेलमा बहुमूल्य १ अङ्क खोस्न सफल भएको हो।

खेल अवधिभर ७४ प्रतिशतभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखेर लगातार २७ पटक प्रहार गरेको स्पेनिस टोली केप भर्डेको फलामे डिफेन्स र गोलकिपर भोजिन्हाको अभेद्य पर्खाल तोड्न असफल रह्यो।

४० वर्षे गोलकिपर भोजिन्हाको सनसनीपूर्ण कीर्तिमान

केप भर्डेको यो ऐतिहासिक सफलताका खम्बा बने– टोलीका ४० वर्षीय अनुभवी गोलकिपर भोजिन्हा। उनले स्पेनका स्टार खेलाडीहरूका ७ वटा उत्कृष्ट र निश्चित गोल हुन सक्ने प्रहारलाई बचाउँदै विश्वकप डेब्यूमै 'क्लिन सिट' राख्ने सबैभन्दा पाको उमेरको गोलकिपरको कीर्तिमान समेत आफ्नो नाममा लेखेका छन्।

पहिलो हाफको ३९ औँ मिनेटमा फेरान टोरेसको प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने लगत्तै ओयार्साबाल र लापोर्टेको प्रहारलाई भोजिन्हाले उत्कृष्ट बचाउ गरे। फिफा वरियतामा दोस्रो स्थानमा रहेको स्पेन र ६७ औँ स्थानमा रहेको केप भर्डेबीचको यो भिडन्तमा देखिएको डिफेन्सिभ अनुशासन खेल इतिहासकै उत्कृष्ट मध्येको एक मानिएको छ।

लामिन यमालको प्रवेशले पनि टर्न सकेन संकट

दोस्रो हाफमा स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले आक्रामक रणनीति अपनाउँदै खेलको ७१ औँ मिनेटमा युवा स्टार लामिन यमाललाई मैदान प्रवेश गराए। घाइते भएका कारण बेन्चमा रहेका यमालले मैदान छिर्नासाथ खेलमा ऊर्जा थपे र जम्मा २० मिनेटको अवधिमा ५ पटक सफल ड्रिबल गर्दै विपक्षी डिफेन्सलाई दबाबमा राखे।

तर, केप भर्डेका डिफेन्डर रोबर्टो लोपेसले ८६ औँ मिनेटमा गरेको खेलकै उत्कृष्ट 'म्याच सेभिङ ब्लक' का कारण स्पेन स्तब्ध बन्यो। खेलको अन्तिम समयमा केप भर्डेले दुईवटा खतरनाक काउन्टर अट्याकको अवसर समेत सिर्जना गरेको थियो, जहाँ डिने बोर्गेसको उत्कृष्ट हेडरलाई स्पेनिस गोलकिपर उनाई सिमोनले बचाएका थिए।

स्पेनको अफ्रिकी संकट कायमै

युरो २०२४ को विजेता समेत रहेको स्पेनका लागि विश्वकपको यो सुरुआत निकै निराशाजनक र दबाबपूर्ण बनेको छ। सन् २०२२ को विश्वकपमा मोरक्कोसँग पराजित भएको स्पेनले विश्वकप इतिहासमा अफ्रिकी राष्ट्रहरूविरुद्ध खेलिएका पछिल्ला ४ खेलमा जित निकाल्न सकेको छैन। यो बराबरीसँगै समूह 'एच' मा नकआउट चरणको यात्रा तय गर्न स्पेनले अब आगामी आइतबार साउदी अरेबिया र त्यसपछि उरुग्वेविरुद्ध अग्निपरीक्षा दिनुपर्नेछ।

खेल सकिएलगत्तै केप भर्डेका खेलाडीहरूले मैदानमै ऐतिहासिक उत्सव मनाएका थिए भने रोएका गोलकिपर भोजिन्हालाई सहकर्मीहरूले काँधमा उचालेर सम्मान व्यक्त गरेका थिए।

सम्पर्कमा रहनुहोस्