असार १, २०८३
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन्। आइतबार आयोजना क्षेत्रको निरीक्षण गर्दै मन्त्री लम्सालले वर्षायाममा आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई सचेत गराए।
अनुगमनका क्रममा उनले राष्ट्रिय गौरव र महत्त्वको यस आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै काममा हुने कुनै पनि प्रकारको लापरबाही वा अनावश्यक ढिलाइ सरकारलाई स्वीकार्य नहुने स्पष्ट पारे।
आयोजनाको सुस्त गतिप्रति असन्तुष्टि जनाउँदै मन्त्री लम्सालले स्थलगत निरीक्षणकै क्रममा आक्रोशपूर्ण शैलीमा दिएको एउटा अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। उनले चेतावनी दिँदै भनेका थिए:
"काम नगरे खुट्टा भाँचिदिनु।"
उक्त भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा मिश्रित प्रतिक्रिया सुरु भएको छ। केही नागरिक तथा बौद्धिक वर्गले यसलाई विकास निर्माणमा देखिएको चरम ढिलासुस्ती र बेथितिको विरुद्ध मन्त्रीको स्वाभाविक असन्तुष्टि र कडा चेतावनीका रूपमा स्वागत गरेका छन्। अर्कोतर्फ, कतिपयले सार्वजनिक र जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो हिंसात्मक र गैरजिम्मेवार भाषाको प्रयोग हुनु उपयुक्त नहुने भन्दै टिप्पणी गरिरहेका छन्।
आक्रोश र चेतावनीका बीच मन्त्री लम्सालले आयोजनामा देखिएका व्यावहारिक तथा प्राविधिक समस्याहरू तत्काल समाधान गर्न मन्त्रालयले आवश्यक सम्पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। निर्धारित समयमै सडक स्तरोन्नतिको काम सम्पन्न गर्न सरकार, निर्माण व्यवसायी र सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ थियो।
विगत केही समयदेखि बिटुमिनको अभाव तथा अन्य विभिन्न प्राविधिक अवरोधका कारण प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको कामले पछिल्लो समय भने पुनः गति लिएको छ। आयोजना कार्यालयका अनुसार बिटुमिन आपूर्ति सहज भएसँगै अहिले उक्त सडक खण्डका विभिन्न क्षेत्रमा धमाधम कालोपत्रे (पिच) गर्ने काम भइरहेको छ।