जेष्ठ ३१, २०८३
न्युयोर्क
फिफा विश्वकप २०२६ को समूह 'सी' अन्तर्गतको आफ्नो पहिलो खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको यो खेल समूह चरणकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बन्यो। विशेष गरी खेलको पहिलो हाफ निकै खुला, आक्रामक, र मनोरञ्जक रह्यो।
खेलको सुरुवातदेखि नै अफ्रिकी च्याम्पियन (AfCon Champions) मोरक्को निकै उत्कृष्ट लयमा देखियो र उसले ब्राजिललाई दबाबमा (Back foot) राख्यो। खेलको २१ औं मिनेटमा मोरक्कोले सानदार अग्रता लियो। मैदानको मध्यभागबाट ब्राहिम डियाजले उपलब्ध गराएको उत्कृष्ट थ्रु-बललाई नियन्त्रणमा लिँदै मिडफिल्डर इसमाइल साइबरीले एकै टचमा ब्राजिलका गोलकिपर अलिबाँट खाली पोष्टमा बल छिराएका थिए।
सुरुवाती हाफमा ब्राजिलले खेलमा फर्कन निकै संघर्ष गर्नुपरिरहेको थियो। टोलीले कुनै उल्लेख्य अवसरहरू सिर्जना गर्न सकिरहेको थिएन। तर, खेलको ३२ औं मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरको व्यक्तिगत जादु चम्कियो। बायाँतर्फबाट ब्रुनोले दिएको क्रसलाई उत्कृष्ट फिनिसिङ दिँदै उनले खेललाई १–१ को बराबरीमा ल्याए। त्यो जादुमयी गोलबाहेक पहिलो हाफमा ब्राजिलले थप केही गर्न सकेन।
पहिलो हाफ जति धमाकेदार र रोमाञ्चक रह्यो, दोस्रो हाफ भने त्यति नै खल्लो बन्न पुग्यो। दोस्रो हाफमा उल्लेख गर्नलायक खासै कुनै ठूला अवसरहरू सिर्जना हुन सकेनन्। खेलको ७८ औं मिनेटमा भिनिसियस जुनियरको पासमा राफिन्हाले हानेको प्रहार सिधै मोरक्कोका गोलकिपरको हातमा पर्नु नै दोस्रो हाफको एउटा मुख्य गतिविधि बन्यो।
खेलको अन्त्यतिर पुग्दा दुवै टोली बराबरीको नतिजामै सन्तुष्ट देखिए। दुवै टोलीले १–१ अंक सुरक्षित गर्दै आगामी खेलहरूमा केन्द्रित हुने रणनीति बनाएका छन्।
यो बराबरीपछि समूह 'सी' मा रहेका ब्राजिल र मोरक्कोले अब आफ्ना आगामी खेलहरू स्कटल्याण्ड र हाइटीविरुद्ध खेल्नेछन्।
नकआउटको बलियो दाबेदार: समूह चरण पार गरेर अर्को चरणमा पुग्नका लागि ब्राजिल र मोरक्को नै यस समूहका प्रमुख दाबेदार (Favorites) हुन्।
अर्को यात्राको प्रश्न: समूह चरण पार गरे पनि यो विश्वकपमा यी दुई टोली कति अगाडि (क्वाटरफाइनल, सेमिफाइनल वा फाइनल) सम्म पुग्न सक्नेछन् भन्ने कुराले विश्व फुटबल वृत्तमा नयाँ बहस छेडिदिएको छ।
वरीयताको लडाइँ: फिफा वरीयतामा ब्राजिल छैटौं र मोरक्को सातौं स्थानमा रहेका कारण पनि आगामी खेलहरूमा यी दुईबीच शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।
आजै भएको अर्को खेलमा समूह 'बी' का कतार र स्विट्जरल्यान्डले पनि १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।