जेष्ठ २९, २०८३
काठमाडौँ, २९ जेठ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले देशमा साच्चै सुशासन कायम गर्ने हो भने तत्काल दुईवटा महत्वपूर्ण काम आँट गरेर अगाडि बढाउन सरकारलाई सुझाव दिनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले 'राष्ट्रिय सदाचार नीति २०७४' को कार्यान्वयन र सरकारी, सार्वजनिक तथा गुठी जग्गा सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरी तत्काल भूमिलाई राज्यको मातहतमा ल्याउन माग गर्नुभयो।
सांसद सिंहले वर्षौँदेखि थन्किएर बसेको सदाचार नीतिलाई ब्युँताउन सरकारसँग आग्रह गर्नुभयो। "यदि सरकार साँच्चै नै देशमा सुशासन र सदाचार कायम गर्न चाहन्छ भने राष्ट्रिय सदाचार नीति २०७४ लाई तत्काल लागू गर्ने आँट गरोस्," उहाँले सदनमा भन्नुभयो। यो नीति लागू भएमा राज्यका हरेक अंग र पदाधिकारीहरू जवाफदेही बन्ने उहाँको दाबी थियो।
संसदमा विशेष जोड दिँदै सांसद सिंहले सरकारी, सार्वजनिक र गुठी जग्गा हडप्ने गिरोहमाथि राजनीतिक दलका शीर्ष नेताहरूकै संरक्षण रहेको गम्भीर आरोप लगाउनुभयो। विभिन्न समयमा गठित छानबिन समिति र आयोगका प्रतिवेदनहरू मन्त्रालयमा थन्किएर बसेको तर कार्यान्वयन हुन नसकेको प्रति उहाँले आक्रोस व्यक्त गर्नुभयो।
सदनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो:
"सरकारी, सार्वजनिक र गुठीको जग्गासम्बन्धी छानबिन प्रतिवेदन मन्त्रालयमा थन्किएर बसेको छ, तर कार्यान्वयन भएको छैन। किनभने ती बहुमूल्य जग्गाहरू राजनीतिक दलका ठूला नेताहरू र तिनका मतियारहरूले कब्जा गरेका छन्। तिनै मतियार र माफियाहरूलाई जोगाउनका लागि प्रतिवेदनहरू सार्वजनिक नगरिएको हो।"
सांसद सिंहले सुशासनको नारा लगाउने वर्तमान सरकारका लागि यी दुई कार्य नै वास्तविक अग्निपरीक्षा हुने उल्लेख गर्दै माफियाहरूको चंगुलबाट सरकारी भूमि फिर्ता ल्याउन सरकारले खुट्टा कमाउन नहुने बताउनुभयो।