नेपाललाई सनातन राष्ट्र घोषणा गर्न माग गर्दा ज्यान मार्ने र बलात्कारको धम्की आयो: सांसद खुश्बु ओली

जेष्ठ २७, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले नेपाललाई सनातनी हिन्दू राष्ट्र बनाउनुपर्छ भनी संसद्‌मा आवाज उठाउँदा आफूमाथि ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको खुलासा गरेकी छिन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि सुनियोजित रूपमा भौतिक आक्रमण र गम्भीर प्रकारका धम्कीहरू आइरहेको संसद्‌लाई जानकारी गराइन्। संसद्‌मा आक्रोश पोख्दै उनले प्रश्न गरिन्, ‘के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ? ९० प्रतिशत सनातनीहरू बस्ने देशमा संविधानको धाराले समेत सुनिश्चित गरेको हकअनुसार आवाज उठाउँदा यसरी धम्क्याइनु कतिसम्म न्यायसंगत हो?’

"यो ममाथि मात्र होइन, सिङ्गो सनातन धर्ममाथिको प्रहार हो"

सांसद ओलीले यस्ता धम्कीहरूलाई आफूले व्यक्तिगत रूपमा सहन सक्ने भए पनि यो विषय व्यक्तिविशेषमा मात्र सीमित नरही सिङ्गो सनातनी समुदाय र आस्थामाथिको प्रहार भएको जिकिर गरिन्। नेपालमा पुस्तौँदेखि धार्मिक सद्भावसहित बस्दै आएका रैथाने इसाई (क्रिश्चियन) समुदायले कहिल्यै पनि जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै नहिँडेको उल्लेख गर्दै उनले अहिले भइरहेको धर्मान्तरण खेलको कडा आलोचना गरिन्।

उनले भनिन्:

"कसैले स्वेच्छाले धर्म परिवर्तन गर्छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। तर, विदेशीबाट पाठ पढाइएका नक्कली इसाईहरूले 'आँखा नदेख्नेले आँखा देख्छ, एचआईभी जस्ता रोगका कीटाणु नष्ट हुन्छन्, ह्विलचेयरमा आएकाहरू हिँडेर जान्छन्' भन्दै भ्रम फैलाइरहेका छन्। सनातनका भक्तहरूलाई 'शैतान' भन्दै, घर बनाइदिने लोभ देखाएर संगठित रूपमा धर्मान्तरण गराउने काम भइरहेको छ।"

आफूले यही विकृतिविरुद्ध आवाज उठाएको स्पष्ट पार्दै यसबाट वास्तविक र पुराना इसाई समुदायलाई कुनै समस्या नहुने र हुन नपर्ने उनको भनाइ थियो।

संविधानको धारा २६ (३) को बर्खिलाप काम भइरहेको दाबी

सांसद ओलीले नेपालको वर्तमान संविधानको व्यवस्थालाई स्मरण गराउँदै कानुनी रूपमै धर्मान्तरण निषेध गरिएको बताइन्। नेपालको संविधानको धारा २६ को उपधारा (३) ले स्पष्ट रूपमा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पुर्‍याउने कामलाई पूर्णतः प्रतिबन्धित र दण्डनीय बनाएको उल्लेख गर्दै उनले राज्य संयन्त्र यस्ता गैरकानुनी गतिविधिमा मौन बसेकोमा आपत्ति जनाइन्।

उनले संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराउँदै आफूलाई आउने धम्कीपूर्ण गतिविधिमा संलग्नहरूमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र मुलुकमा भइरहेको संगठित धर्मान्तरण रोक्न माग गरेकी छिन्।

सम्पर्कमा रहनुहोस्