एमालेद्वारा संगठन सुदृढीकरणका लागि देशव्यापी सुझाव संकलन कार्यतालिका सार्वजनिक, सदस्य-सचिवमा पोखरेल

जेष्ठ २६, २०८३

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित ‘निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल’ ले देशव्यापी रूपमा सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी केन्द्रीय कार्यालय (च्यासल) मा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै आगामी असार १९ गतेसम्म देशव्यापी सुझाव संकलन गर्ने कार्ययोजना तय गरेको हो।

पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले पार्टी संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी पार्टी महासचिव शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ।

सुझाव संकलनको विस्तृत कार्यतालिका

बैठकले तय गरेको कार्ययोजना अनुसार विभिन्न प्रदेश, सम्पर्क समन्वय, जनसंगठन तथा विभागहरूमा निम्न मितिमा सुझाव संकलन कार्यक्रमहरू सञ्चालन हुनेछन्:

मिति (२०८३) कार्यक्रम हुने क्षेत्र / संरचना जेठ ३० गते बागमती प्रदेश असार २ gते कोशी प्रदेश असार ४ गते लुम्बिनी प्रदेश असार ६ गते सुदूरपश्चिम प्रदेश असार ८ गते कर्णाली प्रदेश असार ११ गते गण्डकी प्रदेश असार १३ गते मधेश प्रदेश असार १६ गते राजधानी (विशेष क्षेत्र) असार १७ गते सम्पर्क समन्वय असार १८ गते जनसंगठनहरू असार १९ गते विभाग प्रमुख तथा विभिन्न निकायका पदाधिकारीहरू

सहभागिता र समन्वय:

प्रदेशस्तरीय भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति रहनेछ। यी कार्यक्रमहरूको प्रत्यक्ष समन्वय र सहजीकरण सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ।

पार्टीलाई जनमुखी बनाउन अध्यक्ष ओलीको निर्देशन

बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई वैचारिक रूपमा एकताबद्ध, सङ्गठनात्मक रूपमा चुस्त र व्यावहारिक रूपमा जनमुखी बनाउनुपर्ने आवश्यकतामा जोड दिए। उनले कार्यकर्ताहरूलाई जनतामाझ पुगेर सक्रिय भूमिका निर्वाह गर्न र संगठन सुदृढीकरणका कामलाई तीव्रता दिन निर्देशनसमेत दिए। अध्यक्ष ओलीले निर्वाचनको समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो विशेष धारणा राखेका थिए।

बैठकपछि कार्यदलका सदस्य एवं एमाले सचिव महेश बस्नेतले पहिलो बैठकमा निर्वाचनको निर्मम समीक्षा, संगठनको पुनर्गठन तथा पार्टीको आगामी रणनीतिक कार्यदिशाबारे नेताहरूबीच विस्तृत र सकारात्मक छलफल भएको जानकारी दिए। एमालेले यस देशव्यापी अभियानबाट आउने सुझावका आधारमा आफ्नो आगामी सांगठनिक र राजनीतिक ठोस कार्ययोजना तय गर्ने बताएको छ।

सम्पर्कमा रहनुहोस्