जेष्ठ २५, २०८३
एसियन गेम्स २०२६ को पुरुष क्रिकेट अन्तर्गत छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सिङ्गापुरको सिङ्गा ओभल मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जित्दै हङकङलाई ब्याटिङको निम्तो दिएका हुन्।
यो फाइनल खेल नेपाली क्रिकेट र कप्तान दिपेन्द्र सिंह ऐरीका लागि विशेष र ऐतिहासिक बनेको छ। कप्तान ऐरीको यो १०० औं टी-२० अन्तर्राष्ट्रिय (T20I) खेल हो। नेपालका लागि यो कोसेढुङ्गा पार गर्ने उनी महत्त्वपूर्ण खेलाडी बनेका छन्।
नेपाल र हङकङको फाइनल यात्रा यसअघि भएको सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओमानलाई ८ विकेटको विशाल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। अर्कोतर्फ, हङकङले मलेसियालाई पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।
यी दुवै टोलीले यसअघि नै जापानमा आयोजना हुने एसियन गेम्स २०२६ का लागि आफ्नो स्थान पक्का गरिसकेका छन्। त्यसैले आजको यो भिडन्त छनोट प्रतियोगिताको विजेता बन्नका लागि मात्र हुँदैछ।
मलेसिया तेस्रो स्थानमा यसैगरी, आजै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मलेसिया विजयी भएको छ। मलेसियाले ओमानलाई ८ विकेटले सहजै पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भयो।
सिंगापुरको ओभल मैदानमा नेपाली बलरहरूले हङकङका ब्याटरहरूलाई कति रनमा रोक्न सक्छन् र कप्तान दिपेन्द्रले आफ्नो १०० औं खेललाई उपाधिसहित यादगार बनाउन सक्छन् कि सक्दैनन् भन्नेमा नेपाली प्रशंसकहरूको नजर टिकेको छ।