जेष्ठ २४, २०८३
पोखरा । पोखरा महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा तथा भौतिक संरचनाहरू स्थानीय बासिन्दाहरूले स्वतःस्फूर्त रूपमा हटाउन सुरु गरेका छन्।
महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्र खाली गर्न जारी गरेको १५ दिने सार्वजनिक सूचनाको म्याद समाप्त हुन लाग्दा स्थानीयले सकारात्मक पहलकदमी देखाएका हुन्। यसअघि महानगरपालिकाले अतिक्रमण हटाउन ३५ दिने र पछि नगर विकास समितिले १५ दिने अल्टिमेटम जारी गरेको थियो, जसको समयसीमा यही २४ गते सकिँदै छ।
लामो समयदेखि विवादित र अस्तव्यस्त बनेको पोखरा बसपार्कलाई व्यवस्थित र आधुनिक प्रादेशिक टर्मिनलका रूपमा विकास गर्ने महानगरको योजनालाई सहयोग पुर्याउन स्थानीय जग्गाधनी तथा बासिन्दाहरू आफैँ अग्रसर भएका छन्। स्थानीयहरूले आफ्ना पक्का घर, टहरा र भान्साघरहरू आफैँ भत्काएर सामान सुरक्षित स्थानमा सार्न थालेका हुन्।
विगतमा १ लाख ५० हजार रुपैयाँ बुझाएर सो क्षेत्रमा जग्गाको लालपुर्जा (स्वामित्व) पाएका स्थानीयवासीहरूले समेत विकासका लागि महानगरपालिकासँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन्।
"मुलुक र सहरको विकासका लागि हामीले स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ। व्यवस्थित बसपार्क पोखराको गौरव हो, त्यसैले निर्माणका लागि अनुकूल वातावरण सिर्जना गर्नु हाम्रो पनि दायित्व हो," स्थानीय बासिन्दाहरूले भने।
विसं २०३१/३२ सालमा करिब २०५ रोपनी जग्गा अधिग्रहण गरेर पोखरामा बसपार्क बनाउने गुरुयोजना तयार पारिए पनि उचित संरक्षणको अभावमा उक्त जग्गा खुम्चिएर ४७ देखि ६० रोपनीमा सीमित हुन पुगेको थियो। बाँकी जग्गा सुकुम्वासी, दलित समुदाय तथा विभिन्न व्यावसायिक टहराहरूले अतिक्रमण गरेका थिए।
महानगरपालिकाले काठमाडौँ महानगरको पदचाप पछ्याउँदै सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत यसपटक कडा कदम चालेको हो। सूचनाको म्यादभित्रै स्थानीयले सकारात्मक रूपमा आफैँ संरचना हटाउन थालेपछि अब वर्षौँदेखि अलपत्र परेको आधुनिक पोखरा बसपार्क निर्माण कार्यले गति लिने विश्वास गरिएको छ। तोकिएको समयभित्र संरचना नहटाए महानगर आफैँले भत्काउने र त्यसको खर्च सम्बन्धित पक्षबाटै असुल गर्ने चेतावनी समेत यसअघि दिइएको थियो।