जेष्ठ २४, २०८३
लन्डन । बेलायती सेनाको 'ब्रिगेड अफ गोर्खाज' अन्तर्गत नवगठित पहिलो विशेष तोपखाना एकाइ 'द किङ्ग्स गोर्खा आर्टिलरी' (KGA) को स्थापनाको खुसीयालीमा एक भव्य र ऐतिहासिक परेड सम्पन्न भएको छ। गत जुन ४ (जेठ २१ गते) का दिन विल्टशायरको सलिस्बरी नजिकै रहेको 'रोयल आर्टिलरी ब्यारेक, लार्कहिल' मा बेलायती राजा चार्ल्स तृतीयको गरिमामय उपस्थितिमा उक्त 'फर्मेसन परेड' (स्थापना परेड) आयोजना गरिएको हो।
रोयल रेजिमेन्ट अफ आर्टिलरीका 'क्याप्टेन जनरल' समेत रहेका राजा चार्ल्सको स्वागतमा २१ तोपको सलामी दिइएको थियो भने गोर्खा सैनिकहरूले राजालाई परम्परागत नेपाली अत्तर र फूलको ठुलो माला पहिराएर स्वागत गरेका थिए। बेलायती सेनामा आबद्ध गोर्खा सैनिकहरूका लागि यो दिन अत्यन्तै गर्व र ऐतिहासिक कोशेढुङ्गा सावित भएको छ।
परेडलाई सम्बोधन गर्दै राजा चार्ल्स तृतीयले यो नयाँ रेजिमेन्ट बेलायत र नेपालबीचको सदियौँ पुरानो र निकै मूल्यवान् ऐतिहासिक सम्बन्धको बलियो पुनरुत्थान भएको बताए। आधुनिक युद्धकला र प्रविधिको मागलाई ध्यानमा राखेर गोर्खा आर्टिलरीको गठन गरिएको उनको भनाइ थियो।
विशेष कुरा, राजा चार्ल्सले परेडमा उपस्थित गोर्खा सैनिकहरूलाई नेपाली भाषामै ढाडस दिँदै भने, "मलाई तपाईँहरू प्रति पूरा भरोसा छ।"
सम्बोधनका क्रममा उनले थपे, "यो नयाँ तोपखाना रेजिमेन्टले अब गोर्खा सैनिकहरूलाई बेलायती सेनाको सम्पूर्ण सैन्य क्षमता र रणनीतिक क्षेत्रमा सेवा गर्ने अवसर प्रदान गर्नेछ, जुन निकै उपयुक्त र आश्वस्त पार्ने विकास हो।"
युक्रेन युद्धको पाठ र आधुनिक प्रविधि:
राजा चार्ल्सले आधुनिक युद्धको रणभूमि बदलिएको चर्चा गर्दै युक्रेन द्वन्द्वबाट आफूहरूले पाठ सिकेको उल्लेख गरे। फुर्ती, सटिकता (Precision) र आधुनिक प्रविधिको समायोजनले युद्धको परिभाषा बदलेको भन्दै उनले नयाँ गोर्खा गनर्स (तोपखाना सैनिक) हरूले 'आर्चर' (Archer), 'लाइट गन' (Light Gun) र 'रिमोट-कन्ट्रोल हाउइट्जर १५५' जस्ता संसारकै अत्याधुनिक र शक्तिशाली आर्टिलरी प्रणालीको तालिम पाउने जानकारी दिए।
सन् २०२५ को अप्रिलमा औपचारिक रूपमा स्थापनाको घोषणा गरिएको यो एकाइ 'ब्रिगेड अफ गोर्खाज' भित्रको सातौँ 'क्याप ब्याज' (Cap Badge - टोपीमा लगाइने विशेष चिह्न) बनेको छ। आगामी तीनदेखि चार वर्षभित्र ४०० भन्दा बढी गोर्खा सैनिकहरू यस ऐतिहासिक तोपखाना एकाइमा आबद्ध भई बेलायती सेनाको पहिलो, तेस्रो डिभिजन र १६ एयर असल्ट ब्रिगेडलाई प्रत्यक्ष सैन्य सहयोग प्रदान गर्नेछन्। सन् २०२९ सम्म यस एकाइमा कुल सैन्य संख्या ५०० नाघ्ने अनुमान गरिएको छ।
यस नयाँ क्याप ब्याजको डिजाइनमा बेलायती तोपखानाको 'फिल्ड गन' र गोर्खाहरूको पहिचान 'क्रस खुकुरी' लाई सँगै मिलाएर राखिएको छ। परेडको अन्त्यमा सैनिक र तिनका परिवारले राजा चार्ल्सको सम्मानमा परम्परागत शैलीमा 'हिप हिप हुर्रे' भन्दै खुसीयाली मनाएका थिए। यस समारोहमा रोयल फेमिली, ब्रिटिस आर्मी र गोर्खा ब्रिगेड एसोसिएसनका उच्च सैन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।