जेष्ठ २२, २०८३
उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको म्यान्डेट (जनादेश) विपरीत काम गरे आफ्नो पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ।
उज्यालो नेपाल केन्द्रीय युवा तथा विद्यार्थी विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले सरकारका हालैका कतिपय निर्णयहरू जनमुखी हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको हो।
देशमा आर्थिक सुधार र परिवर्तनका लागि जनताले यो सरकारलाई दुई-तिहाइको बलियो मत दिएको उल्लेख गर्दै उहाँले सरकार सफल हुनुपर्ने तर जनतालाई निराश पार्ने काम गर्न नहुनेमा जोड दिनुभयो। "जनताले ठुलो आशा र भरोसाका साथ दुई-तिहाइको मत दिएर यो सरकार बनाएका हुन्। सरकार सफल हुनुपर्छ भन्ने हाम्रो पनि चाहना हो," अध्यक्ष घिसिङले भन्नुभयो, "तर यदि सरकारले जनभावनालाई कुल्चिएर जनता निराश हुने कामहरू गरिरह्यो भने उज्यालो नेपाल पार्टी चुप लागेर बस्दैन।"
विद्युतमा कर लगाउँदा मूल्यवृद्धि बढ्ने दाबी अध्यक्ष घिसिङले सरकारले ल्याएको नयाँ करसम्बन्धी व्यवस्था पूर्ण रूपमा अव्याहारिक र जनविरोधी रहेको दाबी गर्नुभयो। विशेष गरी संकटका बेला जनतालाई आर्थिक राहत र सहुलियत दिनुपर्नेमा उल्टै ऊर्जा क्षेत्र र विद्युतमा कर थुपारेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
विद्युतमा कर लगाउने निर्णयले देशको आन्तरिक उत्पादनलाई समेत असर गर्ने उहाँको तर्क थियो। उहाँले भन्नुभयो, "विद्युतमा कर लगाउने सरकारको निर्णयले सिधै उपभोक्ताको भान्सा महँगो बनाउने मात्र होइन, उद्योगधन्दाको लागत बढाएर बजारमा सम्पूर्ण उपभोग्य वस्तुहरूको गम्भीर मूल्यवृद्धि निम्त्याउने निश्चित छ।"
'नयाँको विकल्प फेरि पुरानो हुन सक्दैन' मुलुकको वर्तमान राजनीतिक अवस्था र वैकल्पिक राजनीतिक शक्तिबारे चर्चा गर्दै अध्यक्ष घिसिङले पुराना राजनीतिक दलहरूको प्रवृत्तिबाट जनता आजित भइसकेको जिकिर गर्नुभयो। उहाँले अब देशमा नयाँ सोच र नयाँ शक्तिको आवश्यकता रहेको औँल्याउनुभयो।
"अब राजनीतिक बजारमा नयाँको विकल्प फेरि पनि पुरानै असफल तत्वहरू हुन सक्दैनन्," पुराना दलहरूतर्फ संकेत गर्दै अध्यक्ष घिसिङले भन्नुभयो, "अहिलेको अवस्थामा नयाँ र सही विकल्प भनेको केवल उज्यालो नेपाल पार्टी मात्रै हो।"
उहाँले उज्यालो नेपाल पार्टी सधैँ भुइँमान्छे र आम नागरिकको मुद्दा बोकेर जनताकै माझमा क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। जनताका आधारभूत समस्या समाधानका लागि संघर्ष गर्दै आफ्नो पार्टी छिट्टै देशको एक सशक्त र स्थापित राजनीतिक शक्तिको रूपमा उदाउने दाबी समेत उहाँले गर्नुभयो।