जेष्ठ १९, २०८३
नयाँ दिल्ली । भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालयमा उच्चस्तरीय भेटघाट गरेको छ। रास्वपाका सभापति रवि लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच दुई देशको आपसी सम्बन्ध र राजनीतिक आयामबारे विस्तृत छलफल भएको हो।
भाजपाद्वारा जारी विज्ञप्ति अनुसार भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, साझा सभ्यतागत विरासत, सांस्कृतिक निकटता तथा जनस्तरको सम्बन्ध (People-to-People relations) लाई अझ सुदृढ बनाउने विषयमा चर्चा भएको थियो। दुवै नेताहरूबीच लोकतान्त्रिक संवादलाई बढावा दिँदै भाजपा र रास्वपाबीचको अन्तरदलीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक कुराकानी भएको छ।
भाजपाको सांगठनिक ढाँचा र 'जेनजी' को भूमिकामा चासो भाजपाको विशेष ‘नो बीजेपी’ (Know BJP) कार्यक्रम अन्तर्गत नयाँ दिल्ली पुगेको रास्वपा टोलीलाई अध्यक्ष नवीनले भाजपाको स्थापना कालको यात्रा, पार्टीको मूल विचारधारा, संगठनात्मक संरचना र जनकेन्द्रित राजनीतिक अभ्यासबारे जानकारी गराउनुभएको थियो। उहाँले राष्ट्रिय तहदेखि एकदमै तल्लो 'बुथ' तहसम्म पार्टीको संरचना कसरी सञ्चालन हुन्छ र जनतासँग प्रत्यक्ष जोडिन कार्यकर्ताले कस्तो भूमिका खेल्छन् भन्नेबारे प्रकाश पार्नुभएको थियो।
भेटमा रास्वपा प्रतिनिधिमण्डलले विश्वकै ठूलो दल मानिने भाजपाको सदस्यता वितरण प्रक्रिया, निर्वाचनमा उम्मेदवार छनोट गर्ने प्रणाली तथा तल्लो तहका आम नागरिकसँग सम्पर्क र पहिचान कायम गर्ने संयन्त्रबारे चासो राखेको थियो। जवाफमा भाजपा अध्यक्ष नवीनले निरन्तरको जनसम्पर्क, बुथस्तरीय सक्रियता र आम नागरिकको व्यापक सहभागिताकै कारण भाजपाले यो संगठनात्मक शक्ति हासिल गरेको बताउनुभयो। उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकास, सेवा, सुशासन र जनकल्याणलाई केन्द्रमा राखेर सरकार सञ्चालन भइरहेको समेत दाबी गर्नुभयो।
विशेष गरी, दुवै पक्षबीच राजनीतिमा नयाँ पुस्ता अर्थात् ‘जेनजी’ (Gen-Z) को बढ्दो भूमिका, लोकतान्त्रिक प्रक्रियामा उनीहरूको सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्व निर्माणका सम्भावना र चुनौतीबारे गम्भीर छलफल भएको थियो।
मिडिया सेन्टरको अवलोकन र दिवाभोज उक्त भेटघाटमा भाजपाका तर्फबाट बरिष्ठ नेताहरू अरुण सिंह, संजय जैसवाल, सांसद बन्सुरी स्वराज र विजय चौथाइवालेको उपस्थिति रहेको थियो। भेटपछि रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा रहेको अत्याधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालय (Central Library) को समेत अवलोकन गरेको थियो।
भेटघाटको समापनपछि रास्वपा टोलीको सम्मानमा आयोजित विशेष दिवाभोज कार्यक्रममा रेखा गुप्तासहित अन्य वरिष्ठ भाजपा नेताहरूको सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ। रास्वपाको यस भ्रमणले दुई देशका उदीयमान र स्थापित राजनीतिक शक्तिहरूबीच नयाँ रणनीतिक सम्बन्ध विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।