प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा संसद् अवरुद्ध, बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

जेष्ठ १९, २०८३

विपक्षी दलहरूको लगातारको विरोध, नाराबाजी र वेल घेराउका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ २५ गते बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गर्नुभएको हो।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी दिउँसो ३ बजे मात्र सुरु भएको बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्ने समय दिनुभएको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको अडान: 'तथ्य चाहियो, नत्र माफी माग' संसद्‍मा बोल्दै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारत सीमा विवादका विषयमा संसद्‍को रोस्ट्रमबाटै दिएको अभिव्यक्तिको कडा आलोचना गरे। विपक्षी दलहरूले प्रधानमन्त्रीको सो भनाइको आधिकारिक तथ्य माग गर्दै आएका छन्। बिना कुनै ऐतिहासिक तथ्य र प्रमाण देशको कार्यकारी प्रमुखले गैरजिम्मेवार ढंगले बोलेको भए प्रधानमन्त्रीले संसद् समक्ष माफी माग्नुपर्ने अडान उनीहरूले आजको बैठकमा पनि दोहोर्‍याए।

सांसदहरूले धारणा राखिसकेपछि सभामुख डोलप्रसाद अर्यालले संसद्को नियमित कार्यसूचीलाई अघि बढाउन खोज्नुभएको थियो। तर, प्रधानमन्त्रीबाट स्पष्ट जवाफ वा माफी नआएसम्म संसद् चल्न नदिने भन्दै विपक्षी सांसदहरूले वेल घेराउ गरी चर्को नाराबाजी सुरु गरे।

सभामुखले पटक–पटक आग्रह गर्दा पनि नाराबाजी र गतिरोध नरोकिएपछि अन्ततः सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गर्नुभएको हो।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका सम्भावित कार्यसूचीहरू तय गरिएका थिए। प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीचको विवाद उत्कर्षमा पुग्दा महत्वपूर्ण संसदीय कार्यसूचीहरू प्रभावित बन्न पुगेका छन्।

सम्पर्कमा रहनुहोस्