प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक, सदनमा माफी माग्नुपर्छ: कांग्रेस सभापति गगन थापा

जेष्ठ १८, २०८३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन शाहले संसद्‍मा दिएको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय परामर्श कार्यशालाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

सभापति थापाले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा देशको कार्यकारी प्रमुखले गैरजिम्मेवार अभिव्यक्ति दिनु गम्भीर त्रुटि भएको औंल्याउनुभयो। उहाँले प्रधानमन्त्रीले आफ्नो सीमासम्बन्धी सो अभिव्यक्ति तत्काल फिर्ता लिई संसद् (सदन) मा माफी माग्नुपर्ने माग समेत गर्नुभयो।

जेनजी आन्दोलन र रास्वपालाई सुझाव कार्यक्रममा बोल्दै सभापति थापाले 'जेनजी आन्दोलन' का क्रममा भएका घटना र मानवअधिकार उल्लंघनबारे राष्ट्रिय मानवअधिकार आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो। उहाँले प्रतिवेदनका आधारमा दोषी देखिएका जो-कोहीलाई पनि निष्पक्ष ढंगले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो।

यस्तै, संसद्‍मा हालैका दिनमा देखिएको अंकगणित र संख्याको दम्भप्रति संकेत गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनमतलाई अहंकारको रूपमा नलिन सुझाव दिनुभयो। उहाँले प्राप्त जनमतलाई देश विकास र नागरिकको सेवा गर्ने ठूलो अवसरको रूपमा लिएर जिम्मेवारीपूर्वक काम गर्न रास्वपा नेतृत्वलाई आग्रह गर्नुभयो।

कांग्रेस एकताबद्ध हुन्छ पार्टीको आन्तरिक राजनीतिकबारे बोल्दै सभापति थापाले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाएर अघि बढाउन आफू गम्भीर रूपमा लागिपरेको उल्लेख गर्नुभयो। निर्वाचन परिणामहरूलाई स्वाभाविक रूपमा लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै उहाँले भन्नुभयो, "निर्वाचनले कांग्रेस ल्याएको होइन, कांग्रेसका कारण देशमा निर्वाचन र लोकतान्त्रिक पद्धति स्थापित भएको ऐतिहासिक तथ्यलाई हामीले बिर्सनु हुँदैन।"

सम्पर्कमा रहनुहोस्