जेष्ठ १८, २०८३
प्रतिनिधि सभा नियमावलीको मस्यौदा पारित गर्ने कार्यसूची रहेको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूबीच संसद्को वेलमै भौतिक रूपमै घम्साघम्सी र धक्कामुक्का भएको छ । नियमावलीको मस्यौदामा परेका ३५ वटा संशोधनहरूलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्णयार्थ प्रस्तुत गर्न थालेपछि सुरु भएको विवाद नियन्त्रण बाहिर गएको हो ।
सभामुखले संशोधनहरूलाई प्रक्रियामा लैजान खोज्नासाथ असन्तुष्ट बनेका विपक्षी दलका सांसदहरू तत्कालै वेलमा घेराउ गर्न पुगेका थिए । उनीहरूले सभामुखको भूमिका र तटस्थतामाथि गम्भीर प्रश्न उठाउँदै चर्को नाराबाजी सुरु गरे ।
विपक्षीको नाराबाजी र अवरोध लगत्तै सत्तापक्षका सांसदहरू पनि प्रतिवाद गर्दै वेलमा उत्रिएका थिए । त्यस क्रममा संसद्को वेलभित्रै दुवै पक्षका सांसदहरूले एक-अर्कालाई औँला ठड्याउँदै आक्रोशपूर्ण रूपमा चेतावनी दिएका थिए । स्थिति तनावपूर्ण बनेपछि मर्यादापालकहरूले बीचमा उभिएर दुवै पक्षलाई छेक्ने प्रयास गरेका थिए, तर सांसदहरूले एक-अर्कालाई ठेल्दै सभामुखको समर्थन र विरोधमा नाराबाजी जारी राखेका थिए ।
तनाव बढ्दै जाँदा विपक्षी दलकी एक महिला सांसद मर्यादापालकहरूको घेरा तोडेर सभामुखको रोष्ट्रम नजिकै पुग्नुभएको थियो । तर, त्यहाँ तैनाथ सुरक्षाकर्मी र मर्यादापालकहरूले उहाँलाई तत्कालै रोकेका थिए ।
सदनमा अभूतपूर्व रूपमा तनाव र हुलमुल बढेपछि सभामुख अर्यालले पटक-पटक 'माइक' बाट सदनको मर्यादा कायम राख्न र आफ्नो स्थानमा बस्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहलाई दुवै पक्षले अस्वीकार गरेपछि अन्ततः सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
विपक्षी दलहरूको चर्को विरोध र सदनमा भएको यो हंगामाका बीच सत्तारुढ दलहरूले भने आजैको बैठकबाट प्रतिनिधि सभा नियमावली बहुमतबाट भए पनि पास गराउने रणनीति बनाएका छन् । नियमावलीका कतिपय प्रावधान र संशोधन प्रक्रियालाई लिएर केही दिनदेखि नै संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच सम्बन्ध चिसिँदै आएको थियो, जसको उग्र रूप आज संसद्को रोष्ट्रम र वेलमा देखिन पुगेको हो ।