सरकारले गरिबी होइन, गरिब नै हटाउने मानसिकता देखायो; स्थानीय चुनाव लड्न ‘लिडरसीप एकेडेमी’ को कोर्ष अनिवार्य: गगन थापा

जेष्ठ १६, २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति नै उदासीन दृष्टिकोण अपनाएको आरोप लगाएका छन्। नेपाल थारु सङ्घको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले गरिबी हटाउने होइन, गरिबलाई नै हटाउने मानसिकता देखाएको टिप्पणी गरे।

कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले सरकारका सकारात्मक कामको स्वागत गर्ने र कमजोरीप्रति खबरदारी गर्ने दायित्व रहेको स्पष्ट पार्दै उनले बजेटमा अर्थतन्त्रका संरचनागत सुधारका लागि केही सकारात्मक नीतिगत व्यवस्था समेटिएको स्वीकार गरे।

"जहाँ ठीक कुरा भएको छ, त्यसलाई हामीले ठीक भन्नु पर्छ। संरचनागत सुधारका लागि ल्याइएका सकारात्मक विषयहरूको स्वागत गर्नुपर्छ," थापाले भने, "तर सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ। गरिबी र गरिबलाई एउटै रूपमा बुझ्ने प्रवृत्ति गलत छ।"

'मेरो अगाडि जो गरिब पर्छ त्यसलाई हटाइदिन्छु भन्ने गलत सोच देखियो'

सभापति थापाले राज्यको प्रवृत्ति गरिबको समस्या समाधान गर्नुभन्दा उनीहरूलाई विस्थापित गर्नेतर्फ उन्मुख देखिएको गम्भीर आरोप लगाए। सरकारले सुकुम्वासी तथा निम्न वर्गलाई विकल्पबिना नै हटाउन खोजेको सङ्केत गर्दै उनले बजेटमा पनि त्यो प्रतिविम्बित भएको बताए।

उनले आक्रोश पोख्दै भने, "मेरो अगाडि जो गरिब पर्छ त्यसलाई म मास्दिन्छु, हटाई दिन्छु भनेपछि गरिबी हट्छ भन्ने गलत सोच भएको कुरा सिर्जित छ। हिजोको बजेटमा पनि हामीले यो कुरा देख्यौं।"

प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै थापाले भने, "सरकारले संविधान मास्छ, कांग्रेस उभिन्छ। सरकार कानुनका विरुद्धमा बोल्छ, कांग्रेस उभिन्छ। सरकारले राज्यको स्रोत र साधन कुनै एउटा पक्षलाई मात्रै पुग्ने गरिकन त्यसको नीति, स्रोत–साधन, नियम, कानुन त्यतातिर लिएर जान्छ भने सबै समाजका खास गरिकन निम्न वर्गका मानिसहरूले प्राप्त गर्नुपर्छ भनेर त्यहाँ कांग्रेस उभिन्छ। त्यो अपोजिसनको ड्युटी हो।"

स्थानीय चुनाव लड्न 'लिडरसीप एकेडेमी' को कोर्ष अनिवार्य

समारोहमा बोल्दै सभापति गगन थापाले सांगठनिक सुधारका लागि एउटा महत्त्वपूर्ण घोषणा समेत गरे। आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नका लागि पार्टीको 'लिडरसीप एकेडेमी' मा भर्ना भएर कोर्ष पूरा गर्नु अनिवार्य हुने उनले बताए। कोर्ष पूरा नगरेका नेताहरूलाई पार्टीले उम्मेदवार नबनाउने उनको भनाइ थियो।

"हामीले अहिले नेतृत्वको छुट्टै युनिट बनाएका छौं, लिडरसीप एकेडेमी भनेर। जसमा केही दिनमा हामी खुला आह्वान गर्छौं," थापाले घोषणा गरे, "७५३ पालिकामा निर्वाचन लड्न चाहना भएको कोही पनि हुनुहुन्छ म उम्मेदवार बन्न चाहन्छु भनेर, कोही दोहोरिन चाहनु भएको छ, नयाँ उम्मेदवार बन्न चाहनु भएको छ भने अनिवार्य रूपमा लिडरसीप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्ष पूरा गर्नैपर्छ।"

सम्पर्कमा रहनुहोस्