जेनजी आन्दोलनका मृतकका परिवारलाई रोजगारी र घाइतेलाई आजीवन भत्ता दिन आयोगको विशेष प्रस्ताव

जेष्ठ १३, २०८३

काठमाडौँ ।

राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको 'जेनजी (Gen Z) प्रदर्शन' का क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवार र घाइतेहरूलाई लक्षित गर्दै सरकार समक्ष राहत र क्षतिपूर्तिको विशेष प्याकेज अघि सारेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले सो आन्दोलनका क्रममा भएको हिंसा र सुरक्षाकर्मीको गोली प्रहारको घटनाबारे विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेको हो । प्रतिवेदनमा आन्दोलनका घाइतेहरूको दीर्घकालीन उपचार, रोजगारीको व्यवस्था र अपाङ्गता भएका घाइतेहरूको जीवनयापनका लागि राज्यले विशेष सहयोग सुनिश्चित गर्नुपर्ने जोडदार माग गरिएको छ ।

घाइतेहरूको भविष्यको सम्पूर्ण उपचार र औषधि खर्च निःशुल्क गर्नुपर्ने

आयोगको प्रतिवेदनमा प्रदर्शनका क्रममा घाइते भई हालसम्म पनि उपचाररत रहेका तथा दीर्घकालसम्म औषधि सेवन वा नियमित उपचार आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई विशेष ध्यान दिन भनिएको छ ।

आयोगले अघि सारेको प्रस्ताव अनुसार:

आन्दोलनका घाइतेहरूका लागि सम्पूर्ण उपचार खर्च र आवश्यक औषधि राज्यले निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ ।

यो सुविधा केवल तत्कालीन अस्पतालको उपचारमा मात्र सीमित नभई भविष्यमा आइपर्ने जुनसुकै स्वास्थ्य समस्या र नियमित फलोअपलाई समेत समेट्ने गरी सुनिश्चित गरिनुपर्नेछ ।

समय सूत्र: मृतकका आश्रित परिवारलाई रोजगारीको ग्यारेन्टी

प्रदर्शनका क्रममा राज्य र प्रदर्शनकारी दुवैतर्फबाट भएको हिंसामा परी ज्यान गुमाएका व्यक्तिहरूका आश्रित परिवार निकै संकटमा परेको आयोगको ठहर छ ।

प्रभावित परिवारहरूको जीविकोपार्जन सुनिश्चित गर्दै उनीहरूको बाँच्ने अधिकारको सम्मान गर्न आयोगले यस्तो सिफारिस गरेको हो:

"ज्यान गुमाएका व्यक्तिहरूका आश्रित परिवारका सदस्यहरूमध्ये कम्तीमा एक जनालाई योग्यता अनुसारको रोजगारी वा स्वरोजगारको अवसर प्रदान गरिनुपर्छ । यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारहरूलाई संयुक्त रूपमा जिम्मेवार बनाई विशेष कार्यक्रम ल्याउनुपर्छ ।"

अपाङ्गता भएका घाइतेहरूलाई आजीवन सहायक भत्ताको माग

आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोग तथा गोली प्रहारबाट थुप्रै युवाहरू अपाङ्गताको सिकार भएका छन् । उनीहरूलाई दीर्घकालीन सहायता आवश्यक पर्ने भएकाले आयोगले उनीहरूको जीवनयापन सहज बनाउन राज्यले स्थायी आर्थिक स्रोत सुनिश्चित गर्नुपर्ने औँल्याएको छ ।

आयोगले अपाङ्गता भएका घाइतेहरूलाई आजीवन सहायक सेवा वा विशेष सहायक भत्ता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । यी प्रस्तावहरूलाई केवल राहतको रूपमा मात्र नलिन आग्रह गर्दै मानवअधिकार, सामाजिक न्याय र नागरिकप्रतिको राज्यको संवैधानिक दायित्वसँग जोडेर तुरुन्त सम्बोधन गर्न आयोगले सरकारलाई निर्देश गरेको छ ।

सम्पर्कमा रहनुहोस्