जेष्ठ ९, २०८३
काठमाडौँ, जेठ ८ ।
साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिनको गिरावटपछि सुधारिएको बजारमा यसदिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेको छ। नेप्से सूचकसँगै यसदिन कारोबार रकममा पनि बिहीबारको तुलनामा वृद्धि देखिएको छ।
यसअघि गत बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा ओर्लिएको थियो भने उक्त दिन ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। शुक्रबार भने बजारमा खरिदकर्ताको चाप बढ्दा नेप्से सकारात्मक दिशातिर फर्किएको हो।
न्युज हाइलाइट्स (In Short):
साताको अन्तिम दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा बन्द।
बिहीबारको तुलनामा कारोबार रकममा पनि सुधार।
कारोबारमा आएकामध्ये २०३ वटा स्क्रिप्सको मूल्य बढ्दा ५७ वटाको घट्यो।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट, १४.८१ प्रतिशतले वृद्धि।
शुक्रबार बजारमा उत्साह देखिँदा कारोबारमा आएका कम्पनीमध्ये बहुसंख्यकको सेयर मूल्य बढेको छ। कुल कम्पनीहरूमध्ये २०३ वटा स्टक्सको मूल्यमा वृद्धि भएको छ भने ५७ वटा कम्पनीको मूल्य घटेको छ। यसैगरी ८ वटा स्टक्सको सेयर मूल्य भने स्थिर रह्यो।
यसदिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य १४.८१ प्रतिशतले बढेर सर्किट लेभलभित्रै कारोबार भएको हो।
यसदिन कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। सो जलविद्युत् कम्पनीको मात्रै ४३ करोड रुपैयाँ मूल्य बराबरको सेयर किनबेच भयो।
त्यसैगरी, रिडी पावर कम्पनीले २४ करोड रुपैयाँको कारोबार गर्दा नेसनल हाइड्रोपावर र अपी पावर कम्पनीले समान १६/१६ करोड रुपैयाँको सेयर कारोबार गर्दै सर्वाधिक कारोबार हुने मुख्य कम्पनीहरूको सूचीमा अग्रस्थानमा रहे।
शुक्रबारको बजारमा व्यापार (ट्रेडिङ) समूहबाहेक बाँकी सबै उपसमूहका सूचकहरू सकारात्मक देखिएका छन्। जलविद्युत्, बैंकिङ, र बिमा जस्ता ठूला उपसमूहमा लगानीकर्ताको आकर्षण बढ्दा समग्र बजार परिसूचकलाई दोहोरो अंकले माथि उठाउन मद्दत पुगेको हो।