जेष्ठ ८, २०८३
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२२ रनको विशाल अन्तरले विजयी हासिल गरेको छ। नेपालले दिएको ३१८ रनको बलियो लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा मात्र १९५ रनमा समेटिएपछि नेपालले घरेलु दर्शकमाझ सानदार जित मनाएको हो।
अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले १२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले नेपाली बलरसामु खुलेर खेल्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान इशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले। उनले मात्र ८३ बलको सामना गर्दै ८ चौका र १ छक्का प्रहार गरे।
नेपालको इनिङलाई बलियो स्थितिमा पुर्याउन इशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए। कप्तान रोहितले टोलीका लागि ४६ रनको योगदान दिए।
न्युज हाइलाइट्स (In Short):
लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालद्वारा अमेरिका १२२ रनले पराजित।
नेपालले दियो ३१८ रनको लक्ष्य, अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट।
नेपालका इशान पाण्डेको सर्वाधिक ८४ रन र कप्तान रोहित पौडेलसँग ११० रनको साझेदारी।
दीपेन्द्र सिंह ऐरीको विष्फोटक ५९ रन, आसिफ शेखको ४३ र कुशल भुर्तेलको २९ रन।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। कुशल भुर्तेल ३९ बलमा २९ रन बनाउँदै क्याच आउट भए भने आसिफ शेखले ४३ रनको योगदान दिए।
मध्यक्रममा गुल्सन झा १५ रनमा आउट भए पनि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै ५९ रनको अर्धशतकीय पारी खेले। खेलको क्रममा ३८ रनमा रहँदा साइतेजा मुक्कामल्लाबाट क्याच ड्रप भएर जीवनदान पाएका दीपेन्द्रले त्यसको भरपूर फाइदा उठाउँदै नेपालको स्कोर ३०० पार गराए। उनी अन्तिमतिर रनआउट हुन पुगेका थिए।
त्यस्तै सोमपाल कामी ६ रन र नन्दन यादव १ रनमा रनआउट हुँदा आरिफ शेख १८ रनमा अविजित रहे।
यो विशाल जितसँगै नेपालले लिग–२ को तालिकामा महत्वपूर्ण अंक जोडेको छ। घरेलु मैदान र दर्शकको अभूतपूर्व समर्थनमा नेपाली टोलीले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्यो।