जेष्ठ ८, २०८३
काठमाडौँ ।
प्रतिनिधिसभामा विपक्षी दलहरूको तीव्र अवरोध, नाराबाजी र तनावपूर्ण वातावरणका बीच सरकारले महत्त्वपूर्ण विधेयकहरू अगाडि बढाएको छ। बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गर्दै चर्को नाराबाजी गरे पनि संसद्को कार्यसूचीलाई निरन्तरता दिइएको हो।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङको माग गर्दै वेल घेराउ गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको विरोधका बाबजुद संसद्को कार्यसूची अघि बढाएपछि बैठकमा तनाव उत्पन्न भएको थियो।
वेल घेराउका क्रममा विपक्षी सांसदहरूले ‘निरंकुश सरकार मुर्दावाद’, ‘गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद’, ‘संसदीय मर्यादा कायम गर’, ‘विपक्षीको माग सम्बोधन गर’ र ‘संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन’ लगायतका नाराबाजी गरेका थिए।
विपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच सरकारले आफ्ना विजनेसहरू संसद्बाट पारित गराउन सफल भएको छ। प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएका तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
विचार गरियोस् भनी स्वीकृत भएका विधेयकहरू:
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३
मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१
यसैगरी, बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई बहुमतले पारित गरेको छ।
विपक्षीको वेल घेराउ र चर्को नाराबाजीका कारण संसद्को वातावरण निकै तनावपूर्ण बनेपछि सभामुख अर्यालले बैठक स्थगित गर्नुभएको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १२ गते मंगलबार बस्ने गरी आह्वान गरिएको छ।