प्रधानमन्त्री बालेन साह संसद्को अङ्ग हुन् कि कुनै टापुका सम्राट?: कांग्रेस नेता अर्जुननरसिंह केसी

जेष्ठ ७, २०८३

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहमाथि संसद्लाई उपेक्षा गरेको गम्भीर आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले प्रधानमन्त्री शाह संसद्को अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको भन्दै आक्रोश पोखे। उनले प्रधानमन्त्री संसद्को अङ्ग हो कि होइन भनेर प्रश्न समेत गरेका छन्।

‘मुलुकको प्रधानमन्त्री कि कुनै टापुको सम्राट?’

सांसद केसीले प्रधानमन्त्री साह मुलुकको कार्यकारी प्रमुख नभई कुनै छुट्टै टापुको साम्राज्य चलाउने सम्राट जस्तो देखिएको जिकिर गरे। देशमा विभिन्न विपद् व्यवस्थापन र जनसरोकारका मुद्दामा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री संसद्मा नआएकोमा उनले कडा आपत्ति जनाए।

सभामुखलाई सम्बोधन गर्दै उनले भने, "सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ र विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो। अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन? सभामुखजी मैले चाहिँ थाहा पाएको छैन है, उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अङ्ग हो? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु।"

बेथिति अन्त्यका लागि कार्यगत योजनाको माग

नेता केसीले देशका समसामयिक समस्या र बेथितिहरूलाई केवल कुरा गरेर मात्र नभई निश्चित कार्ययोजना ल्याएर सुधार गर्नुपर्नेमा जोड दिए। "यो गम्भीर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने र विगत वर्षहरूमा भएको बेथितिबाट मात्रै थिति बसाल्न सक्दैनौँ," उनले अगाडि थपे, "हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्न सक्छौँ।"

पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री र सरकारलाई संसदप्रति जवाफदेही बन्न र संसद्‌मा उपस्थित हुन निरन्तर दबाब दिइरहेका बेला कांग्रेस नेता केसीको यो कडा टिप्पणी आएको हो।

सम्पर्कमा रहनुहोस्