बाजुरा–हुम्ला सीमा झडप प्रकरण: निष्पक्ष छानबिन र राजमार्ग खुलाउन संसद्‌मा सांसदहरूको तीव्र माग

जेष्ठ ७, २०८३

काठमाडौँ ।

बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीसैन–लाम्पाटा क्षेत्रमा भएको हिंस्रक झडप र सीमा विवादलाई लिएर सांसदहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक र विशेष समयमा बोल्दै विभिन्न दलका सांसदहरूले सीमा क्षेत्रमा पटक–पटक हुने गरेका विवादको दीर्घकालीन समाधान खोज्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्।

नेपाली कांग्रेसका सांसदहरूले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे।

के भएको थियो घटना?

प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसदले जेठ ४ गते बाजुराको हिमाली गाउँपालिका–३ र हुम्लाको सीमा क्षेत्र लाम्पाटामा भएको अप्रिय घटनाबारे विस्तृत विवरण राखे। सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण गर्न खोज्दा हुम्लाका स्थानीयले जग्गा आफ्नो भएको दाबी गर्दै अवरोध गरेपछि विवाद सुरु भएको थियो।

विवादकै बीच केही अराजक समूहको सांघातिक आक्रमणबाट हिमाली गाउँपालिका–३ का कार्यपालिका सदस्य पेमा गारा शेर्पा (गुरुङ), उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीन कुँवर, नरबहादुर गुरुङ, बिछ्छ्या प्रहरी चौकीका प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा गम्भीर घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी हाल सुर्खेतमा उपचार भइरहेको छ।

मेयर गोपाल हमालको टोलीमाथि अवरोध र दुर्व्यवहार

सांसदहरूले बाजुराको रानीसैना क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि 'हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ' अभियान बोकेर त्यसतर्फ जाँदै गरेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल (गोपी) हमालसहितको ३०–४० जनाको भ्रमण टोलीलाई समेत हुम्लाका स्थानीयले बाटोमा अवरोध र दुर्व्यवहार गरेको संसद्‌लाई जानकारी गराए। सो क्षेत्रमा भ्रमण टोलीले ड्रोन उडाएर भिडियो खिच्न थालेपछि जग्गा कब्जा गर्न आएको भ्रममा हुम्लाका स्थानीय थप आक्रोशित भई झडपको स्थिति सिर्जना भएको थियो।

राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई सास्ती, वार्ताबाट समाधान खोज्न माग

कांग्रेस सांसद जयपति रोकायाले हुम्ला र बाजुरा क्षेत्रको सीमा विवादलाई लिएर कर्णाली राजमार्ग समेत अवरुद्ध भएको भन्दै सरकारको आलोचना गरे। "राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी र अति आवश्यक कामका लागि हिँडेका सर्वसाधारण मारमा परेका छन्," सांसद रोकायाले भने, "दुई जिल्लाबीचको सीमा विवाद सरकारले तत्काल वार्ता र संवादको माध्यमबाट समाधान गरी राजमार्ग खुलाउनुपर्छ।"

जडीबुटी तस्करी रोक्न खोज्दा आक्रमण: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले पनि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै मेयर हमालसहितको टोलीमाथि भएको दुर्व्यवहारप्रति खेद प्रकट गरे।

सांसद खनालले हिमाली गाउँपालिका र साइपाल क्षेत्र जडीबुटी तथा वन्यजन्तुको अपार भण्डार भएको उल्लेख गर्दै भने, "त्यस क्षेत्रमा वर्षौंदेखि तस्करहरूले कर छलेर अवैध तरिकाले जडीबुटी र वन्यजन्तुको ओसारपसार गर्दै आएका छन्। सो अवैध कार्य रोक्न प्रहरी चौकी स्थापना गर्न खोज्दा तस्कर र केही समूहले दुर्व्यवहार गरेका हुन्।" उनले सो क्षेत्रका नागरिकको सुरक्षा, जडीबुटीको संरक्षण र घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरे।

लालपुर्जा अनुसार उक्त भूभाग बाजुराको भए पनि हुम्लाका स्थानीयले आफ्नो दाबी गर्दा लामो समयदेखि रानीसैन र लाम्पाटा क्षेत्रमा प्रशासनिक विवाद रहँदै आएको छ। सांसदहरूले यसको स्थायी समाधानका लागि गृह मन्त्रालयको तत्काल ध्यानाकर्षण गराएका छन्।

सम्पर्कमा रहनुहोस्