दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

जेष्ठ ७, २०८३

काठमाडौँ ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद (दुर्गा) प्रसाईंलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै अधिवक्ता आशिष लुइँटेलले मङ्गलवार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।

अनुसन्धानको सक्कल फाइल समेत माग

सर्वोच्च अदालतले लिखित कारण मात्र नभई प्रसाईंमाथि भइरहेको अनुसन्धानको सम्पूर्ण विवरण पनि माग गरेको छ । आदेशमा महान्यायाधिवक्ताको कार्यालयबाट बहस गर्ने सरकारी वकिलका साथै अनुसन्धानसँग सम्बन्धित सक्कल फाइल (मिसिल) समेत अदालतमा पेस गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ ।

विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा पक्राउ

प्रहरीले गत सोमबार वीरगन्जबाट प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को बर्खिलाप हुने कार्य गरेको तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

प्रसाईं पक्षले भने उक्त पक्राउ पूर्वाग्रह प्रेरित र गैरकानुनी रहेको दाबी गर्दै तत्काल रिहाइको माग गरिरहेको छ । सर्वोच्चले २४ घण्टाभित्र लिखित जवाफ र अनुसन्धानको फाइल मागेसँगै अब यो मुद्दामा बिहीबार थप बहस हुने देखिएको छ ।

सम्पर्कमा रहनुहोस्