संसदभित्रको विरोध ५ वर्षसम्मै चल्न सक्छ, निलम्बन हुन पनि तयार छु: हर्क साम्पाङ

जेष्ठ ६, २०८३

काठमाडौँ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसद्‌भित्र सुरु भएको आफ्नो विरोध कार्यक्रम आवश्यकता परे पाँच वर्षसम्म पनि निरन्तर चल्न सक्ने चेतावनी दिएका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर गरिएको प्रदर्शनको बचाउ गर्दै उनले सरकार जिम्मेवार नबन्दासम्म आफूहरू पछि नहट्ने स्पष्ट पारेका हुन् ।

मङ्गलवारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न मागसहित संसद्‌भित्रै पर्चा प्रदर्शन गरेका थिए । त्यस क्रममा सभामुखले संसद्को गरिमा विपरीत यस्ता गतिविधि दोहोर्‍याए कारबाही हुन सक्ने चेतावनी दिएका थिए । तर, बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद साम्पाङ झन् आक्रामक रूपमा प्रस्तुत भए ।

"जनताका मुद्दामा सरकार गैरजिम्मेवार भयो"

सञ्चारकर्मीहरूसँग बोल्दै साम्पाङले भने, “जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।” उनले सरकार जनताका जल्दाबल्दा मुद्दाप्रति गम्भीर नभएको गम्भीर आरोप समेत लगाए । सुकुमबासी समस्या, लिपुलेक, र बढ्दो विदेशी ऋणलगायतका विषयमा आफूहरूले बारम्बार प्रश्न उठाए पनि मन्त्रीहरूले जवाफ नदिएको उनको गुनासो थियो ।

“हामीले उत्तर पाएका छैनौँ । उहाँहरू (मन्त्रीहरू) आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २–४ जना मन्त्री आउनुभयो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,” साम्पाङले थपे ।

समय सीमा र सभामुखको भूमिकाप्रति असन्तुष्टि

संसद्मा मन्त्रीहरू उपस्थित भए पनि साना दलहरूलाई प्रश्न गर्ने पर्याप्त अवसर नदिइएको साम्पाङको आरोप छ । सभामुखले समय तोकेर बोल्न दबाब दिएकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, “म संसदीय दलको नेता हो । मलाई दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ ? त्यो हुँदैन ।”

सभामुख कुनै एक दलको नभई सम्पूर्ण संसद्को साझा अभिभावक हुनुपर्ने र सबै दलप्रति समान व्यवहार गर्नुपर्ने धारणा उनले राखे ।

"निलम्बन हुन तयार छौँ, तोडफोड गरेका होइनौँ"

दिनहुँ विरोध गरिरहँदा संसद्बाट निलम्बन हुन सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा साम्पाङले आफूहरू जुनसुकै परिणाम भोग्न तयार रहेको बताए । “ठिक छ त, हामी रेडी छौँ । जनताको लागि, सार्वभौम संसद्का लागि र व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ,” उनले प्रतिक्रिया दिए ।

आफूहरूले संसद्मा कुनै अमर्यादित व्यवहार वा तोडफोड नगरेको जिकिर गर्दै उनले पर्चा देखाउनु लोकतान्त्रिक विरोधको शान्तिपूर्ण माध्यम भएको दाबी गरे । संसद्को नियमावलीमा पर्चा प्रदर्शन गर्न नपाइने स्पष्ट व्यवस्था भए देखाउन चुनौती दिँदै उनले प्रश्न गरे, “हामीले तोडफोड गर्‍यौँ ? अपशब्द बोल्यौँ ? कसैमाथि केही गर्‍यौँ ? एउटा पर्चा देखाएर हाम्रो माग राख्न पनि पाइँदैन ? पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ?”

सांसद साम्पाङको यो कडा अभिव्यक्ति र संसद्‌भित्रको नयाँ विरोध शैलीले आगामी दिनमा संसद्को कार्यसञ्चालन, सभामुखको भूमिका र साना दलहरूको आवाजलाई कसरी सम्बोधन गर्ने भन्नेबारे राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरिदिएको छ ।

सम्पर्कमा रहनुहोस्