जेष्ठ ६, २०८३
काठमाडौँ । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा जारी त्रिकोणीय शृङ्खलाको तेस्रो खेलमा नेपालले लिग लिडर स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ। स्पिनर ललित राजवंशीको घातक बलिङ र कप्तान रोहित पौडेलको उत्कृष्ट अविजित अर्धशतकको मद्दतले नेपालले जारी शृङ्खलामा दोस्रो जित निकालेको हो।
यो जितसँगै नेपाल नेट रनरेटमा नामिबियालाई पछि पार्दै २२ अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर १९९ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
बलियो सुरुवात: ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ६.३ ओभरमा ५८ रनको विष्फोटक साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए। आसिफले १७ बलमा ३ चौका र २ छक्कासहित २९ रन बनाए भने कुशलले २८ रन जोडे। दुवै ओपनर लगातार आउट भएपछि नेपाल केही दबाबमा परेको थियो।
रोहित र इशानको शतकीय साझेदारी: तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले १०४ रनको बलियो शतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याए। इशानले ६१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारी खेले।
कप्तानको अविजित इनिङ्स: कप्तान रोहित पौडेल ९८ बलमा ५ चौका र २ छक्कासहित ७४ रनमा अविजित रहे। आरिफ शेख ८ रनमा अविजित रहँदा दीपेन्द्र सिंह ऐरीले २ रन मात्र जोड्न सके।
स्कटल्यान्डका लागि मार्क वाटले २ र ब्रान्डन म्याकमुलेनले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रन बनाउँदै अलआउट भएको थियो। नेपालका स्पिनरहरू सामु स्कटिस ब्याटरहरू निरीह देखिए, जहाँ १० मध्ये ७ विकेट स्पिनरको खातामा गयो।
म्याकमुलेन र इङ्लिसको प्रतिवाद: स्कटल्यान्डका लागि वन डाउन ब्याटर ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए। उनले ओपनर जर्ज मुन्से (२१ रन) सँग दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे। त्यस्तै माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए। कप्तान रिची बेरिङ्टन १२ र मार्क वाट २० रनमा आउट भए भने अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्।
नेपाली बलरहरूको सन्तुलित आक्रमण: नेपालका लागि बायाँहाते स्पिनर ललित राजवंशीले घातक बलिङ गर्दै ८ ओभरमा ३२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। उनी 'प्लेयर अफ दि म्याच' समेत चुनिए। अर्का स्पिनर सन्दीप लामिछानेले ३ विकेट चट्काए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवको नाममा १–१ विकेट रह्यो।
यसअघि शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डसँग डकवर्थ लुइस (डीएल) पद्धतिमा २ रनले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो। यो महत्वपूर्ण जितले नेपालको आगामी २०२७ विश्वकप क्वालिफायर यात्रा र एकदिवसीय (ODI) मान्यता जोगाउने अभियानमा बलियो ऊर्जा थपेको छ।