अमिशा पराजुलीको आरोप झुटो भएको साइबर ब्युरोको दाबी, आमाले लिखित रूपमै मागिन् माफी

जेष्ठ ६, २०८३

सामाजिक सञ्जालमा दुर्व्यवहारसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा प्रहरी अधिकारीले अश्लील र अपमानजनक व्यवहार गरेको भन्दै अमिशा पराजुलीले लगाएको आरोपलाई नेपाल प्रहरीको साइबर ब्युरोले औपचारिक रूपमा खण्डन गरेको छ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ब्युरोले अमिशाले सार्वजनिक रूपमा लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेको हो। ब्युरोका अनुसार पराजुलीकी आमाले नै कार्यालयमा उपस्थित भएर प्रहरी कर्मचारीबाट त्यस्तो कुनै अश्लील अभिव्यक्ति नआएको स्वीकार गर्दै लिखित रूपमा माफी मागिसकेकी छन्।

के थियो अमिशाको आरोप?

गत आइतबार महिलामाथि हुने ‘डिजिटल हिंसा’ सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भक्तपुरकी अमिशा पराजुलीले साइबर ब्युरोमा उजुरी दिँदा प्रहरीले असहयोग गरेको र घोर अपमानजनक व्यवहार गरेको आरोप लगाएकी थिइन्।

उनले सार्वजनिक मञ्चबाटै भनेकी थिइन्, “छोरी मानिस भएपछि थुतुनो र मुनो जोगाउनु पर्छ भनेर पुलिसले मेरो मम्मीलाई भनेपछि उहाँले मलाई साइबर ब्युरो जान दिनु भएन।” अमिशाले प्रहरी अधिकारीको उक्त अमर्यादित व्यवहारले आफू मानसिक रूपमा गम्भीर प्रभावित भएको दाबी गर्दै आवश्यक परे घटनाका साक्षीसमेत प्रस्तुत गर्न सक्ने चुनौती दिएकी थिइन्।

प्रहरीको प्रतिवाद र आमाको लिखित माफी

अमिशाको उक्त अभिव्यक्ति सार्वजनिक भएलगत्तै साइबर ब्युरोले अनुसन्धान अघि बढाउँदै उनकी आमालाई कार्यालयमा बोलाएको थियो। ब्युरोको दाबी अनुसार, सोधपुछका क्रममा उनकी आमाले छोरीको अभिव्यक्तिका कारण प्रहरी संगठन र साइबर ब्युरोको छविमा गम्भीर असर परेको स्वीकार गरेकी छन्। उनले प्रहरीबाट त्यस्तो कुनै शब्द प्रयोग नभएको स्पष्ट पार्दै भविष्यमा यस्तो गल्ती नदोहोऱ्याउने प्रतिबद्धतासहित लिखित रूपमा माफी पत्र बुझाएको ब्युरोले जनाएको छ।

कहाँबाट सुरु भयो विवाद?

भक्तपुर निवासी अमिशा पराजुली केही समयअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सार्वजनिक रूपमा उत्रिएपछि सामाजिक सञ्जालमा एकाएक चर्चामा आएकी थिइन्। सोही विषयलाई लिएर फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा उनीमाथि तीव्र ट्रोलिङ र साइबर बुलिङ (Cyber Bullying) भएपछि उनले गत चैत १८ गते साइबर ब्युरोमा कारबाहीका लागि उजुरी दर्ता गराएकी थिइन्।

उक्त उजुरीकै अनुसन्धान प्रक्रिया अघि बढिरहेका बेला एकातिर अमिशाले आफूले मानसिक हिंसा र अश्लील टिप्पणी भोग्नुपरेको आरोप लगाएकी छन् भने अर्कोतिर प्रहरी पक्षले यसलाई 'कपोकल्पित र झुटो' दाबी गर्दै पूर्ण रूपमा अस्वीकार गरेको छ। प्रहरी र उजुरीकर्ता पक्षबीचको यो आरोप-प्रत्यारोपले अहिले सामाजिक सञ्जालमा नयाँ बहस सिर्जना गरेको छ।

सम्पर्कमा रहनुहोस्