बैशाख २९, २०८३
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले संसदमा उठाइएका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता राईले जननिर्वाचित प्रधानमन्त्री जनताको आवाजप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।
नेता राईले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारले संविधानप्रदत्त अधिकार र जनताका प्रतिनिधिका प्रश्नलाई सम्मान गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका जनसरोकारका विषयमा स्पष्टीकरण दिनुपर्ने धारणा राख्नुभयो।
"जनताले निर्वाचित गरेको प्रधानमन्त्रीले जनताको आवाज सुन्नुपर्छ," राईले भन्नुभयो, "संविधानमा स्थापित अधिकारलाई सरकारले सम्मान गरे मात्र लोकतन्त्र सही बाटोमा अगाडि बढ्न सक्छ।"
सम्बोधनका क्रममा नेता राईले ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण भइरहेको केबलकार परियोजनाको कडा विरोध गर्नुभयो। केबलकार निर्माणका नाममा धार्मिक र सांस्कृतिक अतिक्रमण भइरहेको दाबी गर्दै उहाँले सो कार्य तत्काल रोक्न सरकारसँग माग गर्नुभयो।
"पाथीभरामा केबलकार निर्माणका नाममा गरिएको धार्मिक अतिक्रमण हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन," उहाँले चेतावनी दिँदै भन्नुभयो, "स्थानीयको आस्था र धार्मिक संवेदनशीलतालाई कुल्चिएर गरिने यस्ता निर्माण कार्यलाई तत्काल रोकिनुपर्छ।"
संसद्मा राईले उठाएका यी विषयहरूले विशेष गरी सदनमा प्रधानमन्त्रीको उपस्थिति र वातावरणीय एवं धार्मिक सम्पदाको संरक्षणका सवालमा नयाँ बहस सिर्जना गरेको छ।