बैशाख १४, २०८३
काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ठूला घर र स्थायी संरचना हटाउने अभियान पुनः सुरु भएको छ।
शनिबार र आइतबार राति अबेरसम्म डोजर चलाएको महानगरले बाँकी रहेका संरचना भत्काउन आज दिउँसोदेखि पुनः कार्य सुरु गरेको हो। गैरीगाउँ क्षेत्रमा सार्वजनिक जग्गा मिचेर दर्जनौँ ठूला र पक्की घरहरू बनेका कारण महानगरलाई यो कार्य सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दुई वटा ठूला डोजर र हेभी मेसिन प्रयोग गरिएको छ।
महानगर प्रहरी प्रमुख जोशीले भन्नुभयो:
"हामीले शनिबार र हिजो आइतबार राति अबेरसम्म केही ठूला घरहरू भत्कायौँ, तर अझै धेरै संरचना बाँकी थिए। अहिले फेरि निरन्तर रूपमा काम अगाडि बढाएका छौँ।"
गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि सार्वजनिक जग्गा मिचेर स्थायी स्वरूपका ठूला भवनहरू निर्माण गरिएका छन्। ती संरचना भत्काउँदा वरपरका अन्य भौतिक पूर्वाधारमा क्षति नपुगोस् भनी महानगरले सावधानीपूर्वक काम गरिरहेको छ। मिचिएको जग्गा पूर्ण रूपमा खाली नगरेसम्म अभियान नरोकिने महानगरले स्पष्ट पारेको छ।