दलित अधिकार विधेयक लुम्बिनी प्रदेशसभाबाट सर्वसम्मत पारित

बैशाख ८, २०८३

बुटवल | लुम्बिनी प्रदेशसभाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको छ। मंगलबार सम्पन्न प्रदेशसभाको सातौँ अधिवेशनको चौधौँ बैठकले उक्त महत्वपूर्ण विधेयकलाई पारित गरेको हो।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो। दफावार छलफलपछि सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक ध्वनिमतका आधारमा सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो। यो ऐन कार्यान्वयनमा आएसँगै प्रदेशभित्र दलित समुदायको हक अधिकार संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

दुई समितिका प्रतिवेदन पेश

बैठकमा विभिन्न संसदीय समितिका प्रतिवेदनहरू पनि पेश गरिएका छन्। कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो।

त्यसैगरी, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। यी प्रतिवेदनहरूले प्रदेशको विकास निर्माण र विषादी नियन्त्रणका आगामी रणनीति तय गर्न मद्दत पुर्‍याउने बताइएको छ।

जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण

बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले समसामयिक र जनजीविकासँग जोडिएका विषयहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले मुख्यतः:

प्रदेशका विभिन्न जिल्लामा भइरहेका विकास निर्माणका काममा ढिलासुस्ती।

कृषकहरूले भोग्नुपरेका समस्या र मलखादको उपलब्धता।

शान्ति सुरक्षा र डढेलो नियन्त्रणका लागि चालिनुपर्ने कदम।

बैठकको अन्त्यमा सभामुखले उठेका प्रश्नहरूका सम्बन्धमा उचित कदम चाल्न सरकारलाई निर्देशन दिनुभएको छ। प्रदेशसभाको अर्को बैठक आगामी सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

सम्पर्कमा रहनुहोस्