जुनसुकै सरकारी अस्पतालमा जाँच गर्न पाइने
@समय सूत्र
चैत्र १७, २०८२
✍️ रिपोर्टर: सुनील सिंह
काठमाडौँ, १७ चैत — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। अब कामदारहरूले सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्।मन्त्रालयका अनुसार दिपक कुमार साह को नेतृत्वमा बसेको मन्त्रिस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने तथा “स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२” अनुसार आवश्यक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको जनाएको छ।यस निर्णयसँगै स्वास्थ्य परीक्षण सेवामा पहुँच विस्तार हुने र कामदारलाई सहजता हुने अपेक्षा गरिएको छ।नेपाल मेडिकल व्यवसायी सङ्घ का महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था कार्यान्वयन गर्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।हाल श्रम तथा रोजगार मन्त्रालयको मापदण्डअनुसार १९४ वटा स्वास्थ्य संस्थाले नवीकरण गरेका छन् र यिनै संस्थामार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण हुँदै आएको थियो।मन्त्रालयले नयाँ व्यवस्थाले सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरेको छ।