चैत्र १३, २०८२
✍️एस.आचार्य
काठमाडौं — नेपालको राजनीतिमा एक अप्रत्याशित र ऐतिहासिक मोड आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिमण्डलको कार्यविभाजन टुंगो लगाउनुभएको छ। नवनियुक्त मन्त्रिपरिषद्मा विज्ञता र युवा जोसलाई प्राथमिकता दिइएको छ। आज सार्वजनिक भएको नयाँ मन्त्रिपरिषद्को विस्तार अनुसार प्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी बालेन शाह आफैंले सम्हाल्नुभएको छ। यस्तै, डोलप्रसाद अर्याललाई सभामुखको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। मुलुकको खस्कँदो अर्थतन्त्र सुधार्ने मुख्य चुनौतीका साथ डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्री नियुक्त गरिएको छ भने परराष्ट्र मामिलाको कमान शिशिर खनालले सम्हाल्ने हुनुभएको छ। मन्त्रिमण्डलमा सोविता गौतमलाई कानुनमन्त्री, विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र सुदन गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी सुम्पिएको छ। त्यसैगरी, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन, गणेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमरेश सिंहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्साल, कृषि मन्त्रीमा गीता चौधरी र सञ्चारमन्त्रीमा बिक्रम तिमिल्सिना चयन हुनुभएको छ। श्रम मन्त्रालयको जिम्मेवारी दिपक साहले पाउनुभएको छ भने सस्मित पोखरेललाई शिक्षामन्त्री, सिता बादीलाई महिला तथा बालबालिका मन्त्री र निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाइएको छ। यस नयाँ मन्त्रिपरिषद्को गठनले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। आम नागरिकले यो नयाँ टोलीबाट सुशासन र द्रुत विकासको अपेक्षा गरेका छन्। नवनियुक्त मन्त्रीहरूले छिट्टै पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।