अनुसन्धान प्रतिवेदनको खुलासा: भदौ २४ को उपद्रो ‘नागरिक आन्दोलन’ मात्र थिएन, राज्यविरुद्धको योजनाबद्ध ‘अपराधिक हमला’ थियो

चैत्र ११, २०८२

✍️एस.आचार्य काठमाडौँ – गत भदौ २४ गते देशका प्रमुख सहरहरूमा भएको भीषण आगजनी, तोडफोड र लुटपाट कुनै आकस्मिक आक्रोश मात्र नभई राज्यका संवेदनशील अङ्गहरूलाई ध्वस्त पार्ने सुनियोजित 'अपराधिक हमला' भएको पुष्टि भएको छ। गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनले उक्त दिनका घटनामा ब्यवसायिक अपराधी, घुसपैठिया र जेलबाट भागेका व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको सनसनीपूर्ण खुलासा गरेको छ। १. राज्यको मुटुमा 'टार्गेटेड' अट्याक: जलाउन विशेष रसायनको प्रयोग आयोगको प्रतिवेदनले सिंहदरबार, संघीय संसद्, सर्वोच्च अदालत र राष्ट्रपति भवन (शीतल निवास) जस्ता अति-संवेदनशील क्षेत्रमा भएको आक्रमणलाई 'राज्यविरुद्धको षड्यन्त्र' को रूपमा चित्रण गरेको छ। * विशिष्ट प्रज्वलनशील पदार्थ: सामान्य आगो मात्र नभई भवनहरू ध्वस्त पार्न विशेष प्रकारका रसायन र पेट्रोल बमको प्रयोग गरिएको पाइएको छ। * तथ्याङ्क नष्ट गर्ने प्रयास: आक्रमणकारीहरूको पहिलो निशाना सरकारी कार्यालयका डेटा सेन्टर, कम्प्युटर कक्ष र महत्त्वपूर्ण अभिलेख भएका कोठाहरू थिए। २. 'प्रोफेसनल' आक्रमणकारीको कार्यशैली (Modus Operandi) प्रतिवेदनले देशभरका आक्रमणमा एउटै 'पैटर्न' देखिएको उल्लेख गरेको छ, जसले यो घटना योजनाबद्ध रहेको पुष्टि गर्छ: * प्रमाण नष्ट: आक्रमण गर्नुअघि सबैभन्दा पहिले सीसीटीभी क्यामेराहरू ध्वस्त पारिएको। * सुरक्षा अवरोध: आगलागी नियन्त्रण गर्न नसकियोस् भनेर पानीका ट्याङ्कीहरू खाली गरी भत्काइएको। * सिलिण्डर विष्फोट: भवनभित्र छिरेर लुटपाट गरेपछि अन्त्यमा ग्याँस सिलिण्डरमा आगो लगाई भित्र फाल्ने गरिएको। ३. आन्दोलनको आडमा अपराधीको 'राज' भदौ २३ को घटनाबाट आक्रोशित 'जेनजी' युवाहरूको काँधमा चढेर अपराधिक समूहले आफ्नो स्वार्थ पूरा गरेको आयोगको ठहर छ। संलग्न हुनेहरूमा: * फरार अपराधी: कारागार र प्रहरी हिरासतबाट भागेका व्यक्तिहरू। * घुसपैठिया: कवाडी संकलन गर्ने, ग्यारेज मजदुर, र उपत्यका बाहिरबाट आएका विशेष समूह। * लुटखोर: भाटभटेनी, होटल हिल्टन र हायात जस्ता ठूला व्यापारिक प्रतिष्ठानमा लुटपाट मच्चाउने समूह। (लुटपाट गर्दागर्दै आफैँले लगाएको आगोमा परेर केही लुटेराको मृत्यु समेत भएको छ)। ४. दिग्भ्रमित युवा र व्यक्तिगत रिसइबी आयोगका अनुसार, ठूलो संख्यामा 'नेतृत्वविहीन र दिशाहीन' युवाहरू भीडको आवेगमा लागेर सार्वजनिक सम्पत्ति जलाउन उद्यत देखिएका थिए। कतिपय ठाउँमा राजनीतिक प्रतिशोध साध्न र व्यक्तिगत रिसइबी फेर्न समेत छिमेकी वा विपक्षीको घरमा आगजनी गरिएको पाइएको छ। ५. आयोगको गम्भीर निष्कर्ष: विस्तृत र सूक्ष्म अनुसन्धान अनिवार्य आयोगले अहिलेसम्मको छानबिनबाट दोषीहरूलाई कानुनी कठघरामा ल्याउन पर्याप्त 'ठोस प्रमाण' संकलन गर्न चुनौती रहेको स्वीकार गरेको छ। त्यसैले, भदौ २४ का प्रत्येक घटनालाई एक-एक गरी बृहत् अनुसन्धान गरी दोषीउपर कडा कारबाही गर्न सरकारलाई सुझाव दिइएको छ। "यो केवल भीडको प्रदर्शन थिएन, यो सार्वजनिक र निजी सम्पत्तिमाथि गरिएको संगठित डकैती र राज्यका संरचनामाथिको नियतवश गरिएको प्रहार थियो।" - जाँचबुझ आयोगको प्रतिवेदनको सार

सम्पर्कमा रहनुहोस्