चैत्र २, २०८२
@सुनिल सिंह काठमाडौँ,
— नेपाल प्रहरी ले काठमाडौँबाट रु एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँ को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा क्षेत्रबाट हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन्।परिसरका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार अभौतिक मुद्राको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नगद रकमसहित पक्राउ गरेको हो।प्रहरीले उनीहरूबाट रु एक करोड १६ लाख नगद, तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटिएको रु २७ लाख ३० हजार बराबरको चेक, विभिन्न बैंकका चार थान एटिएम कार्ड तथा एक थान नागरिकता बरामद गरेको जनाएको छ।यसैगरी, प्रहरीले उनीहरूबाट चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, तीन थान सवारी दर्ता किताब, विभिन्न कम्पनीका छ थान मोबाइल, एनसेल र एनटिसीका ३१ थान सिमकार्ड, साथै एक थान कम्प्युटर पनि बरामद गरेको छ।पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौँ बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अवैध हुण्डी कारोबार नियन्त्रणका लागि आफ्नो निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाउने बताएको छ।