रास्वपामा भुइँचालो: ‘चाप्लुसीवाद मौलायो’ भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलद्वारा पार्टी परित्याग

फाल्गुन ७, २०८२

काठमाडौं — वैकल्पिक राजनीतिको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र व्यक्तिपूजन, गुटबन्दी र चाप्लुसीवाद हाबी भएको आरोपसहित पार्टीकी संस्थापक सदस्य उर्मिला भुर्तेलले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी छन्। पार्टी स्थापना भएको छोटो समयमै एकपछि अर्को गर्दै संस्थापक तहका नेताहरू बाहिरिन थालेपछि रास्वपाको आन्तरिक लोकतन्त्र र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

‘चाप्लुसी नगर्नेको रास्वपामा स्थान छैन’

पार्टी परित्यागको घोषणा गर्दै भुर्तेलले रास्वपाको वर्तमान नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। उनका अनुसार रास्वपा अब सर्वसाधारणको पार्टी नभई केही सीमित व्यक्तिको घेराभित्र सीमित हुँदै गएको छ। पार्टी निर्माणमा योगदान पुर्‍याउने इमानदार र पुराना कार्यकर्तालाई पाखा लगाएर नेतृत्वको ‘जी–हजुरी’ गर्नेहरूलाई मात्र अवसर दिइने प्रवृत्ति मौलाएको उनको आरोप छ।उनले उठाएका मुख्य गुनासाहरूमा संस्थापक र समर्पित कार्यकर्तामाथि अपमानजनक व्यवहार, विधि र विधानको बेवास्ता, नेतृत्वको मनोमानी निर्णय प्रक्रिया तथा नयाँ आएका अवसरवादीहरूलाई प्राथमिकता दिने प्रवृत्ति समेटिएका छन्। भुर्तेलका अनुसार पार्टीभित्र लोकतान्त्रिक बहसको स्थान साँघुरिँदै गएको छ भने आलोचनालाई सहने संस्कार हराउँदै गएको छ।

चुलिँदो आन्तरिक असन्तुष्टि

भुर्तेलको बहिर्गमनलाई राजनीतिक विश्लेषकहरूले रास्वपाभित्र बढ्दै गएको ‘नयाँ पुस्ताको अधिनायकवाद’ को स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार गल्ती सच्याउनेतर्फ ध्यान दिनुको साटो आलोचना गर्ने आवाजलाई दबाउने, कारबाही गर्ने वा पाखा लगाउने रणनीति अपनाइँदा असन्तुष्टि भुसको आगोझैँ फैलिएको हो।पछिल्लो समय पार्टीभित्र निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको, संगठनभन्दा व्यक्तिको प्रभाव बढ्दै गएको तथा आन्तरिक संवाद कमजोर बन्दै गएको आरोप लगातार उठ्दै आएका छन्। संस्थापक तहका नेताहरूले नै पार्टीभित्र बोल्ने स्वतन्त्रता हराएको भन्दै बाहिरिनु रास्वपाका लागि गम्भीर राजनीतिक चुनौतीका रूपमा हेरिएको छ।

पुरानै दलको बाटोमा त छैन रास्वपा?’

संसद् र सडक दुवै स्थानमा ‘पुराना दलको विकल्प’ बन्ने दाबी गर्दै आएको रास्वपाले आन्तरिक अभ्यासमा भने ती दलहरूकै कमजोर पक्ष दोहोर्याइरहेको आरोप लाग्न थालेको छ। संस्थापक सदस्यहरूको बहिर्गमनले पार्टीको भविष्य, संगठनात्मक स्थायित्व र वैकल्पिक राजनीतिको दाबीमाथि नै संशय पैदा गरेको छ।पार्टी परित्यागको घोषणासँगै भुर्तेलले भावुक अभिव्यक्ति दिँदै भनेकी छन्,
“जुन आशा र भरोसाका साथ हामीले यो पार्टी इँटा–इँटा गरेर उठाएका थियौँ, आज त्यहाँ चाप्लुसी गर्नेहरूको मात्रै वर्चस्व देख्दा मन रोएको छ। जहाँ विधि छैन, त्यहाँ बस्नुको औचित्य छैन।”उनको यो कदमलाई रास्वपाभित्र देखिँदै आएको आन्तरिक संकटको अर्को गम्भीर संकेतका रूपमा हेरिएको छ। पार्टी नेतृत्वबाट यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

सम्पर्कमा रहनुहोस्