फाल्गुन ४, २०८२
तेल अवीव / वासिङ्टन — इजरायलले प्यालेस्टिनी सशस्त्र समूह हमासलाई ६० दिनभित्र पूर्ण रूपमा निःशस्त्रीकरण हुन चेतावनी दिएको छ। सो समयसीमाभित्र हतियार नत्याए इजरायली सेनाले गाजामा आफ्नो “मिसन पूरा गर्ने” इजरायलले जनाएको छ।इजरायली मन्त्रिपरिषद् सचिव योसी फुक्सले बिहीबार हुने ‘शान्ति बोर्ड’ (Board of Peace) को बैठकपछि ६० दिने समयगणना सुरु हुन सक्ने बताए पनि यो निश्चित नभएको उल्लेख गरेका छन्। इजरायली सञ्चारमाध्यमका अनुसार फुक्सले यो जानकारी दिएका हुन्।उक्त शान्ति बोर्डको पहिलो औपचारिक बैठक बिहीबार वासिङ्टनमा हुँदैछ। बोर्डमा डोनाल्ड ट्रम्पद्वारा नियुक्त सदस्यहरू सहभागी हुनेछन्। बैठकमा कम्तीमा २० देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावद्वारा समर्थन प्राप्त यो बोर्ड ट्रम्प प्रशासनले गाजामा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न अघि सारेको योजनाको हिस्सा हो। २० बुँदे उक्त योजनामा हमासको निःशस्त्रीकरणलाई प्रमुख शर्तका रूपमा समावेश गरिएको छ।यरुशलममा आयोजित ‘बेशेभा ग्रुप’ सम्मेलनमा बोल्दै फुक्सले भने, “६० दिनको अवधि अमेरिकी प्रशासनको आग्रहमा तय गरिएको हो, र हामी त्यसको सम्मान गरिरहेका छौँ।”उनका अनुसार उक्त अवधिमा हमासले “सबै हतियार त्याग्नुपर्नेछ।”
“हामी मूल्यांकन गर्छौँ,” फुक्सले भने, “यदि सफल भयो भने राम्रो। नभए इजरायली सेनाले मिसन पूरा गर्नुपर्नेछ।”उनले आगामी जुनमा सम्भावित इजरायली निर्वाचन अघि हमासले हतियार त्यागिसकेको वा गाजामा तीव्र सैन्य अभियान चलिरहेको अवस्था देखिनु “स्वाभाविक” हुने पनि बताए।फुक्सका अनुसार प्रक्रियाअन्तर्गत धेरै सुरुङहरू ध्वस्त पार्नुपर्नेछ, “हाम्रो पक्षमा पनि।”इजरायल र हमासले गत वर्ष उक्त योजनामा सहमति जनाएका थिए, जसअनुसार गत अक्टोबर १० देखि युद्धविराम लागू भएको थियो। तर युद्धविराम सुरु भएयता दुवै पक्षले एक–अर्कामाथि पटक–पटक उल्लङ्घन गरेको आरोप लगाएका छन्।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएदेखि हालसम्म इजरायली सेनाको कारबाहीमा ६ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। उता, इजरायलले सो अवधिमा प्यालेस्टिनी लडाकु समूहको आक्रमणमा आफ्ना चार सैनिक मारिएको जनाएको छ।ट्रम्पले शान्ति बोर्डका संस्थापक सदस्य राष्ट्रहरूले गाजामा मानवीय सहायता र पुनर्निर्माणका लागि ५ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रतिबद्धता जनाएको बताए। साथै, सुरक्षा कायम राख्न “हजारौँ सुरक्षाकर्मी” सम्मिलित स्थिरीकरण बल तैनाथ गर्ने प्रतिबद्धता पनि जनाइएको छ।तुर्की, इजिप्ट, साउदी अरेबिया, कतार, इजरायल तथा इन्डोनेसियाजस्ता देशहरू बोर्डमा सहभागी भएका छन्। तर केही विश्व शक्ति र परम्परागत पश्चिमी अमेरिकी सहयोगी राष्ट्रहरूले भने सतर्कता अपनाएका छन्।यो युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वमा दक्षिणी इजरायलमा भएको आक्रमणबाट सुरु भएको थियो, जसमा १,२०० भन्दा बढी मानिस मारिएको इजरायलको दाबी छ। त्यसयता इजरायलले गाजामा गरेको हवाई र स्थल आक्रमणमा ७२ हजारभन्दा बढी मानिस मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।