बंगलादेश संसदीय निर्वाचनः बीएनपीले पहिलो जित दर्ता गर्‍यो, मतगणना जारी

माघ २९, २०८२

काठमाडौँ — बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनको मतगणना जारी रहँदा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले पहिलो जित दर्ता गरेको छ। झेनाइदाह–१ (सैलकुपा) निर्वाचन क्षेत्रबाट बीएनपीका उम्मेदवार मोहम्मद असदुज्जमान विजयी भएका छन्।बंगलादेशी दैनिक प्रोथोम आलो का अनुसार असदुज्जमानले १ लाख ७१ हजार ५९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जमात–ए–इस्लामीका अबु सालेह मोहम्मद मतियुर रहमान ले ५५ हजार ५७७ मत ल्याएका छन्। सहायक निर्वाचन अधिकृत महफुजुर रहमान ले स्थानीय समयअनुसार बिहीबार राति करिब ८ बजे अनौपचारिक नतिजा सार्वजनिक गरेका हुन्। आधिकारिक परिणाम भने निर्वाचन आयोगले घोषणा गर्ने जनाएको छ।देशभरका ३६ हजार मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो। मतदानपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस ले प्रतिक्रिया दिँदै “नयाँ बंगलादेशको जन्म भएको” बताएका छन्।अर्कोतर्फ, पूर्वप्रधानमन्त्री शेख हसिना ले निर्वाचनलाई धाँधलीपूर्ण भएको आरोप लगाउँदै रद्द गर्न माग गरेकी छन्। उनले अन्तरिम सरकार प्रमुख युनुसको राजीनामासमेत माग गरेकी छन्। उल्लेखनीय रूपमा, यस निर्वाचनमा हसिनाको दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो।मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप र हिंसाका घटना पनि भएका छन्। खुलना क्षेत्रमा एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामीका कार्यकर्तासँगको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको जनाइएको छ। त्यस्तै, गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता सञ्चालन गर्दै आएका प्रमुख दलहरूको राजनीतिक परिवर्तनपछि यो पहिलो संसदीय निर्वाचन हो। यस निर्वाचनले करिब ३५ वर्षपछि बंगलादेशलाई नयाँ प्रधानमन्त्री दिने अपेक्षा गरिएको छ।प्रधानमन्त्री पदका प्रमुख दाबेदारका रूपमा बीएनपी नेता तारिक रहमान अघि देखिएका छन्। यदि बीएनपीले बहुमत हासिल गरेमा उनी प्रधानमन्त्री बन्ने सम्भावना छ। यद्यपि जमात–ए–इस्लामीयुवा दल एनसीपी प्रतिको समर्थन पनि बढ्दो देखिएको छ। जमातका सिफुकर रहमान र एनसीपीका नाहिद इस्लाम पनि नेतृत्वको दौडमा रहेका छन्।

सम्पर्कमा रहनुहोस्