माघ २५, २०८२
काठमाडौँ — सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेल को संयुक्त इजलासले देवनागरी लिपी हटाएर अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय संविधान र कानुनविपरीत हुन सक्ने भन्दै उक्त आदेश दिएको हो।अधिवक्ता रामबहादुर राउत मातृदास ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा डेकाटुर टाइगर कम्पनी नेपाल लाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।रिट निवेदनमा देवनागरी लिपीलाई विस्थापित गरी अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय संविधानको मर्म र प्रचलित कानुनविपरीत रहेको दाबी गरिएको थियो।सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अधिवक्ता राउतले यसलाई नेपाली भाषाको पक्षमा ऐतिहासिक जित भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले अदालतको आदेशले सकारात्मक सन्देश दिएको बताउनुभएको छ।यस आदेशसँगै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी हटाएर अंग्रेजी भाषा मात्र प्रयोग गर्ने गरी गरिएको निर्णय तत्काल लागू नहुने भएको छ।यसअघि, २०७९ चैत २२ गते मन्त्रिपरिषद् बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गर्दै ऐनको अनुसूची–२ परिवर्तन गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा प्रयोग गर्न सकिने व्यवस्था गरिएको थियो।तर पछिल्लो निर्णयमार्फत देवनागरी लिपीलाई पूर्ण रूपमा हटाउने प्रयास भएको भन्दै व्यापक विवाद उत्पन्न भएको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशले उक्त निर्णयको कार्यान्वयनमा रोक लगाउँदै इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग सुरक्षित रहने अवस्था सिर्जना गरेको छ।