‘घन्टा’ र ‘झोला’ को युद्धमा धर्म र राष्ट्रियता संकटमा: चुनाव कि देश सुम्पिने सुनियोजित प्रपञ्च?

माघ २५, २०८२

काठमाडौँ नेपालको राजनीति अहिले सिद्धान्त र विकासको बहसबाट टाढिएर 'ग्याङ-वार' को चपेटामा फसेको छ। समाज स्पष्ट रूपमा 'घन्टा' र 'झोला' बोक्ने दुई अतिवादी कित्तामा विभाजित हुँदा, देशको मौलिक धर्म, संस्कृति र राष्ट्रिय अस्तित्व नै जोखिममा परेको भन्दै आम नागरिकले गम्भीर चिन्ता व्यक्त गर्न थालेका छन्। "आफ्नो पहाड जत्रो गल्ती पनि सियो जत्रो बनाइन्छ" बुटवल घर भई हाल काठमाडौँमा रहेका कमल तामाङ र गोले थापा मगरसँगको छुट्टाछुट्टै भेटमा उनीहरूले अहिलेको परिस्थितिलाई 'नियोजित नाटक' को संज्ञा दिए। कमल तामाङ भन्छन्, "अहिले अचम्मको प्रवृत्ति देखिएको छ। विपक्षीको सियो जत्रो गल्ती भेटे पहाड बनाउने मिडिया र जयजयकार गर्ने 'घन्टे' हरू आफ्नै नेताको पहाड जत्रो अपराध बाहिर आउँदा 'विपक्षको चाल' वा 'AI को खेल' भन्दै पन्छिन्छन्। मिडिया मेनिपुलेसनले गर्दा जनता सत्य र तथ्य छुट्याउनै नसक्ने गरी अन्धा भएका छन्।" ८४ को चुनाव ८२ मै किन? र धर्मको रक्षा खोइ? राजनीतिक वृत्तमा अर्को गम्भीर प्रश्न उठेको छ— २०८४ को चुनावलाई किन २०८२ मै ल्याउन खोजिँदै छ? २३ र २४ गतेका शंकास्पद घटनाहरू र अन्तरिम सरकारमा एउटै समूहको वर्चस्वले लोकतन्त्रमाथि नै प्रश्न उठाएको छ। रमेश विक (सर) यसलाई झन् गम्भीर रूपमा व्याख्या गर्छन्। उनी भन्छन्, "देशमा चुनाव केवल नेता फेर्नका लागि मात्र भइरहेको छ। हाम्रो सनातन धर्म र मौलिक पहिचानको रक्षा गर्ने चिन्ता कसैलाई छैन। धर्मको नाममा राजनीति गर्ने तर धर्मको रक्षा नगर्ने प्रवृत्तिले वैदेशिक हस्तक्षेप बढेको छ। निर्दोष मान्छे जो देश र धर्मको चिन्ता गर्छन्, उनीहरूलाई कि 'घन्टे' कि 'झोले' को ट्याग भिराएर आवाज बन्द गरिँदै छ।" नेता सुरक्षित, जनताको भविष्य अन्योलमा गोले थापा मगरका अनुसार, चुनाव जस्ले जिते पनि हार नेपालीकै भइरहेको छ। उनी भन्छन्, "नेताहरू सधैँ धनी र सुरक्षा घेरामा बस्छन्। तर प्रतिशोधको राजनीतिले गर्दा सोझासाझा जनता मर्न र मार्न बाध्य छन्। भोलि महँगी, नाकाबन्दी, चोरी-डकैती र असुरक्षाले सीमा नाघ्दा यी नेताहरूलाई केही हुँदैन, भोग्नुपर्ने त हामी सर्वसाधारणले नै हो।" नियोजित नतिजाको डर र नागरिक खबरदारी अहिलेको परिस्थिति हेर्दा चुनावपछि नेपालले ठुलो ऐतिहासिक हार बेहोर्ने संकेत प्रस्ट देखिन्छ। सुरक्षा निकायलाई कमजोर बनाइनु र न्याय प्रणालीलाई गुलाम बनाइनुले २३-२४ गतेको घटना जस्तै चुनावको नतिजा पनि पहिले नै 'सेट' गरिएको त छैन भन्ने आशंका उब्जाएको छ। यस्तो संकटपूर्ण घडीमा नागरिक तहबाटै निम्न बुँदामा खबरदारी आवश्यक देखिएको छ: * तथ्यको खोजी: मिडियाको भ्रममा नपरी सूचनाको गहिराइ बुझौँ। * पहिचानको रक्षा: वैदेशिक एजेन्डा त्यागेर आफ्नो मौलिक धर्म र राष्ट्रियतालाई केन्द्रमा राखौँ। * प्रतिशोध त्यागौँ: नेताको सत्ता स्वार्थका लागि छिमेकी र दाजुभाइसँग सत्रुता नजन्माऔँ। * सजग मतदान: 'घन्टा' वा 'झोला' को हल्लाभन्दा माथि उठेर इमान्दारिता र देशप्रेमलाई भोट दिऔँ। "जेन-जी" भन्दै रमाउने युवा पुस्ताले बुझ्न जरुरी छ— कतै यो 'परिवर्तन' को नाममा देश र आफ्नो धर्म-संस्कृति नै विदेशीको गुलाम बनाउने खेल त भइरहेको छैन? यदि सबै पार्टी र नेताहरू सच्चिएर देश र धर्मको हितमा नलाग्ने हो भने, यो चुनाव नेपालीका लागि उत्सव होइन, विनासको सुरुवात हुने निश्चित छ।

सम्पर्कमा रहनुहोस्