दुर्गा प्रसाईं पक्राउपछि नागरिक बचाउ महाअभियानद्वारा देशव्यापी आन्दोलनको घोषणा

माघ २३, २०८२

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि उक्त अभियानले देशव्यापी आन्दोलनको घोषणा गरेको छ।महाअभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले माघ २३ गते जारी गरेको विज्ञप्तिमा प्रसाईंको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई प्रतिशोधपूर्ण र निरंकुश भएको आरोप लगाएका छन्।विज्ञप्तिअनुसार प्रसाईं काठमाडौँको चाल्नाखेल (दक्षिणकाली मार्ग) हुँदै ललितपुरबाट वीरगञ्ज जाने क्रममा प्रहरीले करिब दुई घण्टा रोकेर पक्राउ गरेको दाबी गरिएको छ। महाअभियानले यस घटनालाई स्वतन्त्र आवत–जावतको अधिकारको हनन तथा प्रशासनिक दबाबको रूपमा व्याख्या गरेको छ।अभियानले प्रसाईंलाई बिनाशर्त र तत्काल रिहा गर्न माग गर्दै, यदि माग पूरा नभए देशभर अनिश्चितकालीन आन्दोलनमा उत्रन सबै तहका समिति र समर्थकहरूलाई आह्वान गरेको जनाएको छ।यसबीच, प्रहरी स्रोतका अनुसार दुर्गा प्रसाईंलाई साइबर ब्यूरोको आग्रहमा पक्राउ गरिएको हो। उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत विभिन्न राजनीतिक दलका नेताहरू तथा संवैधानिक निकायका पदाधिकारीहरूविरुद्ध गम्भीर र विवादास्पद अभिव्यक्ति दिएको भन्दै अनुसन्धान आवश्यक देखिएको प्रहरीले जनाएको छ।प्रसाईंमाथि लगाइएका आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

सम्पर्कमा रहनुहोस्