डा. सुरेन्द्र …….

माघ २१, २०८२

नेपाल कुनै प्रयोगशाला थिएन, जहाँ मनपरी प्रयोग गर्न सकियोस्। यो देश इतिहास, बलिदान र त्यागले बनेको हो। राजाहरूले जोडेको, सीमाना कोरेको र अस्तित्व जोगाएको देश आज किन यति अस्थिर, दिशाहीन र आत्मविश्वासहीन बनाइयो—यो प्रश्नबाट भाग्न अब सकिँदैन।डा. सुरेन्द्र भन्छन्, “राजतन्त्रका कमजोरी थिए, तर देश टुक्रिने डर थिएन। आज गणतन्त्र छ, तर देशभित्रै देश बनेका छन्।”
संविधान, लोकतन्त्र र गणतन्त्रका नाममा जनतालाई सपनाको खेती देखाइयो, तर परिणामस्वरूप प्राप्त भयो—भ्रष्टाचार, अस्थिर सरकार, विदेशी प्रभाव र कमजोर राष्ट्रिय चरित्र।

पहिले राजा दोषी थिए भन्ने भाष्य बनाइयो।
आज राजा छैनन्, तर दोषी को ?

राजाहरूले देश जोडे, नेताहरूले देश बाँड्न थाले।
राजतन्त्रमा सीमाना सुरक्षित थियो, आज आत्मसम्मान असुरक्षित छ।
पहिले शासन केन्द्रित थियो, आज स्वार्थ केन्द्रित छ।

डा. सुरेन्द्रको तर्क स्पष्ट छ—
“राजा हटेपछि जनताको शासन आउँछ भनियो, तर आयो दलको शासन, नेताको शासन, गुटको शासन।”
जनताको नाममा सत्ता चलाइयो, तर जनताकै भविष्य बन्धक बनाइयो।

आज युवाहरू देश छोड्दैछन्।
किसान निराश छन्।
सैनिक र प्रहरी राजनीति हेरेर लाचार छन्।
राष्ट्रवाद भाषणमा सीमित छ, व्यवहारमा हराएको छ।

यो लेख कुनै राजावादी नारा होइन, आत्मसमीक्षाको ऐना हो।
यदि राजतन्त्र गलत थियो भने, गणतन्त्र किन सही सावित हुन सकेन ?
यदि समस्या राजा थिए भने, राजा हटेपछि समस्या किन झन् बढे ?

डा. सुरेन्द्रको चेतावनी गम्भीर छ—
“इतिहासलाई गाली गरेर भविष्य बन्ने भए, नेपाल आज धेरै अघि पुगिसक्थ्यो।”

अब प्रश्न यही हो—
देश बिग्रिएको स्वीकार्ने कि फेरि कसैलाई दोष थोपर्ने ?
राजाहरूले जोडेको देश बिगार्ने अधिकार कसले दियो ?

सम्पर्कमा रहनुहोस्