डेडलाइन डेमा सनसनीपूर्ण ट्रान्सफर: करिम बेन्जेमाको अल–हिलालतर्फ सराइ, रोनाल्डो अल–नासरको खेलबाट बाहिर

माघ २०, २०८२

रियाद \

साउदी प्रो लिगमा डेडलाइन डेमा ठूलो सनसनी मच्चाउँदै फ्रान्सेली स्टार स्ट्राइकर करिम बेन्जेमाले अल–इत्तिहाद छाडेर लिग लिडर अल–हिलालमा आवद्ध भएका छन्। यो अप्रत्याशित सराइले साउदी फुटबल मात्र होइन, अल–नासरका कप्तान क्रिस्टियानो रोनाल्डोसमेत असन्तुष्ट बनेको चर्चा छ।३८ वर्षीय बेन्जेमा सन् २०२३ देखि अल–इत्तिहादमा थिए। तर उनको सम्झौता अन्तिम छ महिनामा प्रवेश गरिसकेको र नवीकरणका सर्तप्रति असन्तुष्ट रहेको बताइएको थियो। यही परिस्थितिको फाइदा उठाउँदै अल–हिलालले विनामूल्य (free transfer) मा उनलाई अन्तिम घडीमा अनुबन्ध गर्न सफल भयो।अल–हिलालले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ,
“फ्रान्सेली स्टार करिम बेन्जेमालाई आगामी डेढ वर्षका लागि क्लबमा अनुबन्ध गरिएको छ।”सन् २०२२ का बालोन डी’ओर विजेता बेन्जेमाले गत सिजन अल–इत्तिहादलाई लिग र कपको डबल उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। क्लब छोड्ने क्रममा उनले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखेका छन्,
“यो यात्राले मलाई व्यक्तिगत र व्यावसायिक दुवै रूपमा धेरै कुरा दियो। यी रंगहरू लगाएकोमा म गर्वका साथ बिदा हुँदैछु।”

रोनाल्डो असन्तुष्ट, अल–नासरको खेलमा अनुपस्थित

बेन्जेमाको अल–हिलाल सराइपछि अल–नासरका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आक्रोशित भएको रिपोर्ट पोर्चुगिज सञ्चारमाध्यमहरूले गरेका छन्। यही कारण रोनाल्डो अल–रियादविरुद्धको खेलमा टिमबाट बाहिर बसेको दाबी गरिएको छ।यद्यपि अल–नासर क्लबले रोनाल्डोको अनुपस्थितिबारे औपचारिक कारण खुलाएको छैन र रोनाल्डोले पनि सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। तर खेलअघि नै रोनाल्डो स्ट्राइकमा जान सक्ने अड्कलबाजी चलिरहेको थियो। अन्ततः टिम सिट सार्वजनिक हुँदा पाँचपटकका बालोन डी’ओर विजेता पूर्ण रूपमा टोलीबाट बाहिर थिए।पोर्चुगलको प्रतिष्ठित पत्रिका A Bola का अनुसार रोनाल्डो अल–नासरले साउदी सार्वजनिक लगानी कोष (PIF) बाट पर्याप्त सहयोग नपाएकोमा असन्तुष्ट छन्। PIF ले अल–नासरसँगै अल–हिलाल, अल–इत्तिहाद र अल–अहली पनि स्वामित्वमा लिएको छ। रोनाल्डोको गुनासो अन्य क्लबहरूलाई बढी बलियो समर्थन दिइएको भन्ने रहेको बताइएको छ।बेन्जेमामात्र होइन, अल–हिलालका रियादस्थित प्रतिस्पर्धी क्लबले ३० मिलियन युरोमा फ्रान्सेली युवा फरवार्ड कादेर मेइतेलाई पनि अनुबन्ध गर्न सफल भएको छ, जसले असन्तुलनको बहस झनै चर्काएको छ।

मैदानमा जित, शीर्ष स्थानको होड तातो

रोनाल्डो बिना खेले पनि अल–नासरले अल–रियादमाथि १–० को जित निकाल्न सफल भयो। खेलको एकमात्र गोल साडियो मानेले गरे। यो जितसँगै अल–नासरले अल–हिलालसँगको अंक दूरी एक अंकमा झारेको छ।अल–हिलाल भने हाल अल–अहलीसँग कडा उपाधि होडमा छ। सोमबार दुवै टोलीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।अल–नासरका प्रशिक्षक जर्जे जेससले जनवरी ट्रान्सफर विन्डोमा अपेक्षित सुदृढीकरण हुन नसकेको स्वीकार गर्दै भने,
“हामीसँग विदेशी खेलाडी थप्ने ठाउँ छैन र आर्थिक अवस्था पनि राम्रो छैन। एक–दुई खेलाडी आए राम्रो हुन्थ्यो।”

अल–नासरमा हाल रोनाल्डोसँगै जोआओ फेलिक्स, किङ्स्ले कोमान जस्ता स्टार छन् भने ७५ मिलियन डलरमा भित्र्याइएका झोन डुरान हाल फेनरबाह्चेमा ऋणमा छन्।अब अल–नासरको अर्को खेल बेन्जेमाको पूर्व क्लब अल–इत्तिहादविरुद्ध शुक्रबार हुनेछ। उता अल–हिलाल बिहीबार अल–ओखदूदको मैदानमा उत्रनेछ।

सम्पर्कमा रहनुहोस्