अबुधाबीले एडीक्यूका सम्पत्ति ‘लिमाद होल्डिङ’अन्तर्गत एकीकृत गर्ने

माघ १६, २०८२

अबुधाबी —
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीले आफ्नो सार्वभौम सम्पत्ति कोष एडीक्यू (ADQ) का सम्पत्तिहरू हालै स्थापना गरिएको नयाँ लगानी संस्थान लिमाद होल्डिङ (L’imad Holding) अन्तर्गत एकीकृत गर्ने निर्णय गरेको छ। यस कदमसँगै अबुधाबीले विविध सम्पत्ति आधारसहितको एक शक्तिशाली सार्वभौम लगानी संस्था निर्माण गर्ने लक्ष्य लिएको छ।अबुधाबी मिडिया अफिसका अनुसार सर्वोच्च वित्तीय तथा आर्थिक मामिला परिषद् (SCFEA) ले गरेको यस निर्णयले स्थानीय तथा अन्तर्राष्ट्रिय रूपमा सार्वभौम लगानी कोषहरूको विस्तार गर्ने, साथै अबुधाबीको लगानी नीतिको स्थायित्व र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य राखेको छ। लिमाद होल्डिङले दिगो लगानीसम्बन्धी अबुधाबी सरकारको नीतिलाई समेत सहयोग गर्ने बताइएको छ।गत वर्ष स्थापना गरिएको लिमाद होल्डिङको अध्यक्षता अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मदले गरिरहेका छन्, जो अबुधाबी कार्यकारी परिषद्का अध्यक्षसमेत हुन्। नयाँ संरचनाअनुसार लिमादको पोर्टफोलियोमा अब २५ वटा लगानी कम्पनी तथा प्लेटफर्म२५० भन्दा बढी समूहअन्तर्गतका सहायक कम्पनीहरू समेटिनेछन्।लिमाद होल्डिङअन्तर्गत टाका (TAQA), मोडोन प्रोपर्टिज, एतिहाद एयरवेज, प्योरहेल्थ, एतिहाद रेल, वियो बैंक, अबुधाबी पोर्ट्स, म्याक्लारेन र लुई ड्रेफसजस्ता ठूला तथा रणनीतिक महत्वका कम्पनीहरू समावेश छन्। यी कम्पनीहरू ऊर्जा, उड्डयन, पूर्वाधार, स्वास्थ्य, वित्तीय सेवा तथा औद्योगिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।लिमाद होल्डिङसँग सञ्चालन, औद्योगिक तथा प्रविधिगत क्षमतामा फरक पहिचान हुने तथा निजी र सार्वजनिक दुवै बजारमा सक्रिय लगानी प्लेटफर्म रहने बताइएको छ। यसले ऊर्जा, रियल इस्टेट विकास, पूर्वाधार, स्वास्थ्य सेवा तथा औषधि उत्पादन, खाद्य क्षेत्र, उड्डयन, बन्दरगाह, बैंकिङ तथा वित्तीय क्षेत्रसँगै उद्योग र प्रविधि क्षेत्रमा केन्द्रित लगानी विस्तार गर्ने लक्ष्य राखेको छ।यसका साथै लिमाद होल्डिङले प्रत्यक्ष तथा अप्रत्यक्ष लगानीमार्फत विभिन्न कोषहरू र सार्वजनिक तथा निजी वित्तीय बजारमा समेत सक्रियता बढाउने जनाएको छ।सर्वोच्च वित्तीय तथा आर्थिक मामिला परिषद् (SCFEA) ले अबुधाबी सरकारका प्रमुख सार्वभौम लगानी कोषहरू—अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी (ADIA), मुबादाला इन्भेस्टमेन्ट कम्पनी र लिमाद होल्डिङ—को निगरानी गर्दै आएको छ। यसका साथै परिषद्को निगरानीमा अबुधाबीको राष्ट्रिय तेल कम्पनी एडनक (ADNOC) पनि रहेको छ।विश्लेषकहरूका अनुसार लिमाद होल्डिङ अबुधाबीको चौथो प्रमुख लगानी स्तम्भ का रूपमा स्थापित हुँदै अर्थतन्त्रको विविधीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्पर्कमा रहनुहोस्