‘व्यवस्था फेरियो, अवस्था फेरिएन’: पटक-पटकको राजनीतिक धोकामाथि मनोज गजुरेलको तिखो प्रहार
काठमाडौँ । चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले वि.सं. २०४६ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तन र त्यसबाट सर्वसाधारणले पाएको सास्तीबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र भोगाइ सार्वजनिक गर्दै उनले देशमा आधा दर्जन व्यवस्था परिवर्तन भए पनि आम नागरिकको अवस्था ज्युँका त्युँ रहेको भन्दै आक्रोश र चिन्ता व्यक्त गरेका हुन्।
आन्दोलनमा रगत, उपलब्धिमा 'पजेरोतन्त्र'
गजुरेलले २०४६ सालको जनआन्दोलनमा प्रजातन्त्रका लागि आफूले मैतीदेवीमा गोली खाएको स्मरण गर्दै त्यसपछिको उपलब्धिलाई 'पजेरोतन्त्र'को संज्ञा दिएका छन्। मदन भण्डारीको हत्यादेखि राजा वीरेन्द्रको वंशनाशसम्मका घटनामा न्याय पाउने आशामा सडकमा उत्रिएका जनताले सधैँ निराशा मात्र हात पारेको उनको जिकिर छ।
उनले लेखेका छन्, "काङ्ग्रेसलाई बहुमत दिए समाजवाद आउँछ भनेर आफ्नै साथीको टाउको फुटाइयो तर समाजवाद हैन, बरबाद मात्र आयो। जनयुद्धको जगमा समानता हैन, धनयुद्ध मात्र मौलायो।"
सत्ताको लुछाचुँडी र जनतन्त्रको उपहास
तत्कालीन राजा ज्ञानेन्द्रको शासनदेखि गणतन्त्र र संविधानसभासम्मका यात्रालाई केलाउँदै गजुरेलले यी सबै परिवर्तन केही सिमित व्यक्तिको उत्थानका लागि मात्र भएको बताएका छन्। "दुई तिहाईको सरकारबाट स्थिरता हुन्छ भनेर भोट मागियो, तर जनताले दिएको दुई तिहाइको इस्टकोटलाई धोती बनाएर सडकमा नाङ्गै नाचिरहे," उनले कटाक्ष गरेका छन्।
नागरिक र राज्यबीचको 'अग्लो पर्खाल'
आफ्नो लेखमा गजुरेलले राजनीतिक परिवर्तनले केही थान मान्छेको सात पुस्तालाई पुग्ने सम्पत्ति आर्जन भएको तर सर्वसाधारणले कोरोना कालमा सिटामोल र अनिकालमा अन्नसमेत नपाएको तितो यथार्थ पोखेका छन्। उनले राज्य र नागरिकबीच कसले अग्लो पर्खाल लगाइरहेको छ भन्दै प्रश्न गरेका छन्:
"जनता सहभागी भएका आजसम्मका यी राजनीतिक परिवर्तनहरू कसका लागि थिए? के नागरिकको अधिकार मतदान स्थलसम्म मात्र सीमित थियो? हाम्रो गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यसम्म राज्य किन पुग्दैन?"
अन्तमा, उनले आफू र आम नागरिकका तर्फबाट यो व्यवस्थाको विसंगति र जनताको पहुँचबाहिर रहेको राज्य संयन्त्रलाई भत्काउने कुनै व्यक्ति वा व्यवस्था होला कि नहोला भन्दै गम्भीर प्रश्नका साथ लेख टुङ्ग्याएका छन्।
(यो समाचार कलाकार मनोज गजुरेलको आधिकारिक लेखमा आधारित छ ।)