माघ १४, २०८२
रियाद — नेपाल र साउदी अरबबीच साधारण श्रमिक (General Workers) का लागि सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदी अरबको राजधानी रियादमा सम्पन्न समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजी ले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।एक दशकभन्दा लामो समयदेखि प्रयास हुँदै आएको नेपाल–साउदी श्रम सम्झौता यसपटक औपचारिक रूपमा टुंगिएको हो। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने पहल थालेको भए पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन। पटक–पटक मस्यौदा तयार भए तापनि सहमति जुट्न नसक्दा सम्झौता लामो समय अल्झिएको थियो। गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो। तर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकार परिवर्तन भएसँगै प्रक्रिया केही समय ढिलाइ भएको थियो।सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत भएको थियो। उक्त बैठकमा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल–साउदी श्रम सहकार्यलाई संस्थागत र थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्झौताले नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउनेछ भने साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहित, रोजगार सुरक्षा र सेवा सुविधाको संरक्षणका लागि ठोस आधार तयार गर्नेछ।सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रम अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ। दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको जनाइएको छ।रियादस्थित नेपाली राजदूतावासका अनुसार यस सम्झौताबाट साउदी अरबमा हाल कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सेवा सुविधा, सुरक्षा र रोजगारीको स्थायित्व थप मजबुत हुने अपेक्षा गरिएको छ। हाल साउदीमा न्यूनतम तलब नपाउने, करारपत्र फेरबदल हुने, कम्पनीले घर जान नदिने तथा उपचारमा लापरवाही हुनेजस्ता समस्या लिएर दूतावास र वैदेशिक रोजगार विभागमा नियमित रूपमा उजुरी आउने गरेका छन्।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ नेपालीले (पुनः श्रम स्वीकृतिसहित) साउदी अरबका लागि श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो संख्या एक लाख ४१ हजार ५०२ रहेको थियो। सरकारका अनुसार नयाँ श्रम सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन हुन सके साउदीमा देखिँदै आएका यस्ता समस्याहरू समाधानतर्फ ठोस प्रगति हुने विश्वास लिइएको छ।सरकारले अब सम्झौतामा उल्लेखित प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, अनुगमन र समन्वयमा जोड दिँदै नेपाली श्रमिकको अधिकार, सुरक्षा र सम्मानजनक रोजगारी सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।