अबुधाबी र दुबईमा वर्षा, थप जाडो वर्षा र कुहिरोको सम्भावना

माघ ११, २०८२

अबु धाबी/दुबई – संयुक्त अरब इमिरेट्स (UAE) का प्रमुख शहर अबु धाबी र दुबईमा आइतबार बिहानदेखि हल्का वर्षा भएको छ। जाडो मौसम तीव्र बन्दै जाँदा आइतबार बिहान धेरै स्थानमा बादलयुक्त आकाशसहित चिसो मौसम अनुभव गरिएको छ।राष्ट्रिय मौसम विज्ञान केन्द्र (National Centre of Meteorology) का अनुसार आइतबारभर मौसम चिसो नै रहनेछ। दिनको तापक्रम २० देखि २५ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ भने राति अबु धाबी र दुबईमा तापक्रम १६ डिग्री सेल्सियससम्म झर्नेछ।गत महिनामा भएको भीषण वर्षाको तुलनामा हालको वर्षा हल्का भए पनि पछिल्ला दिनहरूमा परेको असामान्य चिसोले ध्यान आकर्षित गरेको छ। यसै सन्दर्भमा दुबईका युवराज तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मदले दुबईलाई हिउँले ढाकिएको कम्प्युटर–निर्मित तस्वीर सामाजिक सञ्जालमा साझा गरेका थिए।उक्त हल्का–फुल्का पोस्टमा ‘Winter Has Come’ शीर्षकको गीत प्रयोग गरिएको थियो र “भोलिको मौसम कस्तो महसुस हुनेछ” भन्ने सन्देश पनि समावेश गरिएको थियो।

थप वर्षा र कुहिरोको पूर्वानुमान

राष्ट्रिय मौसम विज्ञान केन्द्रले जारी गरेको पाँच दिने मौसम पूर्वानुमान अनुसार सोमबार तटीय, उत्तरी तथा पूर्वी क्षेत्रमा थप हल्का वर्षा हुने सम्भावना छ। यस अवधिमा हावाको गति प्रतिघण्टा ४० किलोमिटरसम्म पुग्न सक्ने बताइएको छ।यसैगरी मंगलबार र बुधबार बिहान कुहिरो लाग्ने सम्भावना रहेको छ, जसका कारण सवारी चालकहरूका लागि सडकमा दृश्यता कम हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

सम्पर्कमा रहनुहोस्