राष्ट्रिय स्वतन्त्र पार्टीका ४ गरिब उम्मेदवार….

माघ ११, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना उम्मेदवारले निर्वाचनको मत माग्नुअघि नै जनतासँग चुनावी खर्चका लागि आर्थिक सहयोग माग्न थालेपछि राजनीतिक वृत्तमा तीव्र आलोचना सुरु भएको छ। ती उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत क्यूआर कोड र बैंक खाता विवरण सार्वजनिक गर्दै सहयोगको अपिल गरेका हुन्।जनतासँग चुनावी खर्च माग्ने उम्मेदवारहरूमा काठमाडौं–१ बाट रञ्जु दर्शना, काठमाडौं–४ बाट पुकार बम, काठमाडौं–६ बाट शिशिर खनाल तथा मोरङ–३ बाट गणेश कार्की रहेका छन्। उनीहरूले आफ्नो चुनावी अभियान सञ्चालनका लागि आर्थिक अभाव भएको भन्दै फेसबुकमार्फत सहयोग मागेका हुन्।तर उम्मेदवारहरूले भोट माग्नुभन्दा पहिले नै खर्च माग्नु राजनीतिक रूपमा अनुचित भएको भन्दै व्यापक आलोचना भइरहेको छ। आलोचकहरूले रास्वपाका उम्मेदवारहरूसँग जनतालाई विश्वस्त पार्ने ठोस एजेन्डा नदेखिएको र आर्थिक सहयोग मागेर आफ्नै राजनीतिक स्तर घटाएको टिप्पणी गरेका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार चुनाव जित्न जनतासँग पैसाको माग होइन, स्पष्ट दृष्टिकोण, नीतिगत एजेन्डा र विश्वसनीय नेतृत्व आवश्यक पर्छ। उनीहरू भन्छन्, “चुनावी खर्चका नाममा नोट माग्नु जनविश्वास कमजोर बनाउने कार्य हो।”उम्मेदवारहरूको विगत हेर्दा, शिशिर खनाल यसअघि काठमाडौं–६ बाट निर्वाचित भइसकेका पूर्वशिक्षामन्त्री हुन्। २०७९ सालको निर्वाचनमा रञ्जु दर्शना काठमाडौं–५ र पुकार बम काठमाडौं–१ बाट उम्मेदवार बने पनि पराजित भएका थिए। मोरङ–३ का उम्मेदवार गणेश कार्की भने पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।रास्वपाका यी उम्मेदवारहरूद्वारा सामाजिक सञ्जालमार्फत खुलेआम आर्थिक सहयोग मागिनु चुनावी नैतिकता र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। यस विषयमा पार्टी नेतृत्वको औपचारिक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन।

सम्पर्कमा रहनुहोस्