माघ ११, २०८२
काठमाडौँ, आइसिसी महिला टि२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत शनिबार भएको महत्वपूर्ण खेलमा नेपालले टेस्ट राष्ट्र जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
पूजा महतोको सानदार अर्धशतकनेपालको जितमा उपकप्तान पूजा महतोले अविजित ५२ रनको उत्कृष्ट इनिङ खेलिन्। ५० बलको सामना गरेकी उनले ४ चौका र २ छक्का प्रहार गरिन्। यो उनको टि२० अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक हो, जसका साथ उनी नेपालका लागि सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने महिला खेलाडी बनेकी छिन्। उनले रुविना क्षेत्रीको २ अर्धशतकको कीर्तिमान भंग गरेकी हुन्।
सीताको १००० रनको कोशेढुङ्गायसै खेलमा अनुभवी खेलाडी सीता रानामगरले टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छिन्। यो उपलब्धि हासिल गर्ने उनी इन्दु बर्मा र रुविना क्षेत्रीपछि तेस्रो नेपाली खेलाडी बनेकी छिन्। ११ रन बनाएर खेलिरहँदा जिम्बाब्वेका खेलाडीसँग ठोक्किएर घाइते भएपछि उनी 'रिटायर्ड हर्ट' भएकी थिइन्।
खेलको संक्षिप्त विवरण:जिम्बाब्वे: १२९/६ (२० ओभर)
केलिस एनध्लोभु: ५२ रन
रियांश शर्मा (नेपाल): २ विकेट
नेपाल: १३३/४ (१९.३ ओभर)
पूजा महतो: ५२* रन
इन्दु बर्मा: २२ रन
विन्दु रावल: १५ रन
सुपर सिक्सको सम्भावना जीवितसमूह 'बी' मा नेपालको यो पहिलो जित हो। यसअघि नेपाल थाइल्याण्ड र नेदरल्याण्ड्ससँग पराजित भएको थियो। अब नेपालले सोमबार हुने समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डको सामना गर्नेछ। स्कटल्याण्डलाई पराजित गरेमा नेपालको 'सुपर सिक्स' पुग्ने सम्भावना बलियो हुनेछ।