माघ १०, २०८२
@सुनिल सिंह| काठमाडौं
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति बन्ने सर्तमा गोरखा निर्वाचन क्षेत्रबाट सागर ढकालका लागि उम्मेदवारी फिर्ता गराउने प्रस्ताव अघि सारेको खुलासा भएपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ।राजनीतिक स्रोतहरूका अनुसार भट्टराईले सत्ता–समिकरण र भावी राष्ट्रपतिको आकांक्षासँग जोडेर गोरखा क्षेत्रको उम्मेदवारी व्यवस्थापन गर्न दबाब दिएका हुन्। उक्त प्रस्ताव अनुसार सागर ढकालको उम्मेदवारी फिर्ता गराएर आफ्नो राष्ट्रपति बन्ने बाटो सहज बनाउने रणनीति अघि सारिएको दाबी गरिएको छ।यस विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र आलोचना सुरु भएको छ। आलोचकहरूले यसलाई सिद्धान्तभन्दा पदको सौदाबाजी भएको आरोप लगाउँदै लोकतान्त्रिक मूल्य र निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएका छन्।सागर ढकाल पक्षबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन। यद्यपि स्रोतहरूका अनुसार ढकालको उम्मेदवारी फिर्ता गराउने प्रयासलाई स्थानीय स्तरमा समेत सकारात्मक रूपमा लिइएको छैन।राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रपति जस्तो राष्ट्रिय पदलाई निर्वाचन सौदाबाजीसँग जोड्नु खतरनाक राजनीतिक संकेत हो। “यो प्रस्तावले राजनीतिमा नैतिकता र सिद्धान्तको गम्भीर संकट देखाउँछ,” विश्लेषकहरूको टिप्पणी छ।
यस विषयमा डा. भट्टराई वा उनको दलको औपचारिक धारणा आउन बाँकी रहेको छ, तर घटनाक्रमले सत्ता समीकरण र भावी राष्ट्रपति चयन प्रक्रियामा ठूलो प्रभाव पार्ने संकेत देखिएको छ।