माघ ९, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ। निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारी फिर्ताको अन्तिम विवरण सार्वजनिक गरेसँगै चुनावी प्रतिस्पर्धाको अन्तिम चित्र प्रष्ट भएको हो।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, उम्मेदवारी फिर्ता लिने निर्धारित समयभित्र देशभरबाट ४९ जनाले आफ्नो नाम फिर्ता लिएका छन्। यसअघि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि कूल ३ हजार ४८७ जनाले मनोनयन दर्ता गराएका थिए।
आयोगको तथ्याङ्क अनुसार उम्मेदवारी फिर्ता र दाबी विरोधको प्रक्रियापछि अब ३ हजार ४३७ जना उम्मेदवारहरू चुनावी मैदानमा बाँकी रहेका छन्। ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा छानबिनका क्रममा एक जनाको उम्मेदवारी कानुनसम्मत नदेखिएकाले खारेज गरिएको आयोगले जनाएको छ। बाँकी ४ जनाको उम्मेदवारी भने सदर भएको छ।
प्रारम्भिक मनोनयन: ३,४८७ जना
उम्मेदवारी फिर्ता: ४९ जना
खारेज भएको उम्मेदवारी: १ जना
मैदानमा बाँकी उम्मेदवार: ३,४३७ जना
निर्वाचन मिति: २०८२ फागुन २१ गते
निर्वाचन आयोगले अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उनीहरूलाई आधिकारिक निर्वाचन चिह्न प्रदान गर्ने तयारी गरेको छ। निर्वाचन चिह्न पाएसँगै उम्मेदवारहरूले औपचारिक रूपमा चुनावी प्रचारप्रसार सुरु गर्न पाउनेछन्।कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन २१ को निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन आयोग प्रतिबद्ध रहेको बताउँदै सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ।