माघ ९, २०८२
@सुनिल सिंह काठमाडौँ –
नेकपा (एमाले) का नेता महेश बस्नेतले मैथिली भाषाप्रति अपमानजनक टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन्। उक्त भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि उनले आफ्नो भनाइप्रति खेद व्यक्त गरेका हुन्।बस्नेतले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै आफूले कुनै पनि भाषाको अपमान गर्ने उद्देश्य नराखेको स्पष्ट पारेका छन्। उनले नेपालका सबै भाषा, संस्कृति र समुदायप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै आफ्ना अभिव्यक्तिबाट कसैको भावना आहत भएको भए त्यसप्रति क्षमा चाहेको बताएका छन्।भाइरल भिडियोमा बस्नेतले दिएको अभिव्यक्तिलाई लिएर मैथिली भाषी समुदाय तथा सामाजिक अभियन्ताहरूले कडा आपत्ति जनाएका थिए। उनीहरूले भाषिक विविधता नेपालको पहिचान भएको उल्लेख गर्दै सार्वजनिक व्यक्तिहरूले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गरेका थिए।आलोचना बढ्दै गएपछि बस्नेतको माफीलाई कतिपयले सकारात्मक कदमका रूपमा लिएका छन् भने केहीले यस विषयमा अझ गम्भीर आत्मसमिक्षा आवश्यक रहेको प्रतिक्रिया दिएका छन्। नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले भाषाप्रति गरिने टिप्पणीप्रति राजनीतिक नेतृत्व अझ संवेदनशील हुनुपर्ने आवाजसमेत उठ्न थालेको छ।