माघ ८, २०८२
दमक, झापा आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका निवर्तमान मेयर बालेन साह (बालेन्द्र शाह) बीच कडा प्रतिस्पर्धा हुने निश्चित भएपछि यो क्षेत्रको चुनावी राप ह्वात्तै बढेको छ।
मंगलबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा दमकमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। दुवै पक्षका कार्यकर्ताबीच नाराबाजी र भनाभन हुँदै स्थिति हातहालाहालको अवस्थामा पुगेको थियो। आफ्ना शीर्ष नेताहरूको समर्थनमा उत्रिएका समर्थकहरूबीचको यो मुठभेडले चुनावी सुरक्षामा चुनौती थपेको छ।
झडपपछि उत्पन्न हुन सक्ने थप सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दमकमा विशेष सुरक्षा टोली खटाएको छ। प्रहरी स्रोतका अनुसार दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा १०० जनाको थप टोली दमक क्षेत्रमा परिचालन गरिएको छ।
निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन र सुरक्षा व्यवस्थालाई चुस्त राख्न यो टोलीलाई विशेष निर्देशन दिइएको छ। हाल दमक र आसपासका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।
लामो समयदेखि एमालेको गढ मानिँदै आएको झापा-५ मा यसपटक बालेन साहले चुनौती दिएपछि माहोल रोचक बनेको हो। ओली आफ्नो विरासत जोगाउने दाउमा छन् भने बालेन युवा र परिवर्तनको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। दुवै नेतालाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रूपमा समेत हेरिएकाले यो निर्वाचनलाई 'इलेक्सन इपिसेन्टर' को रूपमा चर्चा गर्न थालिएको छ।